सामान्यको अतिरिक्तमा रहेका दुई सहसचिव: भट्टराई भ्रष्टाचारमा डामिए, रिजाल अनुसन्धानको दायरामा
काठमाडौं। संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव तिर्थराज भट्टराई भ्रष्टाचार मुद्दामा डामिएका छन्। भिजिट भिसा सेटिङ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। भ्रष्टाचार मुद्दा लागेसँगै भट्टराई निलम्बनमा परेका हुन्।
सामान्य कै अतिरिक्त समूहमा हाजिर गरिरहेका अर्का सहसचिव छवि रिजाल पनि अख्तियार अनुसन्धानमा परेका छन्। भट्टराई अख्तियारको नियन्त्रणमा रहँदा गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सम्हालिरहेका रिजालमाथि पनि अख्तियारले भ्रष्टाचार मुद्दा लाने सम्भावना छ।
गृहको प्रशासन महाशाखा प्रमुख हुँदा रिजालको टिमले सेटिङमा अध्यागमनमा कर्मचारी पठाएर भिजिट भिसामा विदेश उठाउने गरेको अख्तियारको अनुसन्धानबाट देखिएको स्रोत बताउँछ।
तत्कालीन गृहमन्त्री रमेश लेखकको निजी सचिव बद्रीप्रसाद तिवारी, विमल पौडेल, स्वकीय सचिव जनक भट्ट, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, प्रशासन महाशाखा प्रमुख छवि रिजाल, प्रशासन शाखाका अधिकृत गणेशदत्त ओझाको सेटिङमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी पठाउने गरिन्थ्यो। उनीहरू कै सेटिङमा आर्थिक चलखेलमा भिजिट भिसामा विदेशमा मान्छे पठाउने गरेको विषय अहिले अख्तियारको छानबिनमा परेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा चल्दा छविहरू पनि अनुसन्धानमा तानिएका हुन्।
गृह मन्त्रालयको अतिरिक्त समूहमा रहेका भट्टराई र रिजाललाई ओमप्रकाश अर्याल आएपछि सामान्यको अतिरिक्त समूहमा पठाइएको हो। लेखक गृहमन्त्री हुँदा भट्टराई गृहमै रमाइरहेका थिए। उनको भट्टराई मोह घटेको थिएन। अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि सामान्यको अतिरिक्त समूहमा पठाउनु पर्ने भट्टराईलाई गृहमै राखिएको थियो। गृह मन्त्रालयको ‘कोर टिम’ नै भिजिट भिसामा रहेकाले भट्टराईलाई गृहबाट नहटाइएको रहेछ भन्ने कुरा अख्तियारको अभियोगबाट पुष्टि हुन्छ। गृहको प्रशासनमा बसेर बढी नै चलखेल गरेका छवि पनि तिर्थ कै लाइनमा देखिन्छन्। उनी सामान्यको अतिरिक्तमै हुँदा भ्रष्टाचारमा डामिने खतरा छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस