चन्द्रकलाले पार्वती र मिराभन्दा अब्बल महिला सहसचिव नदेखेपछि..


समाचार टिप्पणी

काठमाडौं। ‘जेन-जी’ सरकारको प्रधानमन्त्री सुशीला कार्कीले एउटा कार्यालय महिला कर्मचारी मात्र राखेर चलाउन खोजिन। सेवा प्रवाहसँग जोडिएको कार्यालय उनको छनौटमा पऱ्यो। त्यो थियो वैदेशिक रोजगार विभाग। वैदेशिक रोजगार विभागको महानिर्देशकदेखि सबै पदमा महिलालाई राखेर परीक्षण गर्ने प्रधानमन्त्री कार्कीको रणनीति देखिन्छ।

वैदेशिक रोजगार विभागको महानिर्देशकका लागि प्रधानमन्त्री कार्कीले एक अब्बल महिला सहसचिव खोज्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई निर्देशन दिइन्। सचिव पौडेलले दर्जनौं महिला सहसचिवमध्ये उत्कृष्ट कार्यक्षमता भएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिवद्वय पार्वती शर्मा र मिरा आचार्यको नाम पठाइदिन्। अब्बल र उत्कृष्टको सूचीमा सामान्य कै निता अर्याल पोखरेलदेखि पर्यटनकी इन्दु घिमिरेसम्म पर्न सकेनन्। सिडिओ चलाएका महिला सहसचिवहरूलाई चन्द्रकलाले प्रधानमन्त्री कार्कीले सोचेजस्तो सहसचिव ठहऱ्याइनन्।

प्रधानमन्त्रीको टिमलाई सामान्य प्रशासन मन्त्रालयबाट पठाएका दुई सहसचिव पार्वती र मिरामध्ये कसले वैदेशिक रोजगार विभागका चलाउन सक्छ भनेर छान्ने बाध्यता आइपऱ्यो। त्यसमध्ये मिरा ठिकै रहेको ‘फिडब्याक’ आएपछि उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरूवा गरेर पठाएको स्रोतले बतायो। श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले मिरालाई वैदेशिक रोजगार विभागको महानिर्देशक बनाउने निर्णय गरिसकेका छन्। मिरालाई डिजी बनाउन श्रम सचिव कृष्णहरि पुष्कर कर्णले पनि भूमिका खेलेको चर्चा छ।

तुल्सीपुर उपमहानगरापालिकाका तत्कालीन प्रमुख कार्यकारी अधिकृत कृष्णकान्त उपाध्याय १४ लाख घूससहित पक्राउ पर्दा चन्द्रकला पनि छानबिनमा तानिएकी थिइन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका कृष्णकान्तलाई भ्रष्टाचार मुद्दा चलाउदा उनकी श्रीमती चन्द्रकला पनि डामिने भएपछि मुद्दा तामेलीमा राखियो। चन्द्रकलाको गैरकानुनी सम्पत्ति आर्जनको छानबिन पनि अख्तियारले तामेलीमा राखेको देखिन्छ। उनै चन्द्रकलाले सामान्य प्रशासन सचिवको भूमिकामा रहँदा अन्य महिला सहसचिवभन्दा आफ्नै मन्त्रालयका दुई सहसचिवलाई उकृष्ट ठानिन्।

मिराको श्रम मन्त्रालयमा सरूवा भएपछि ‘कलिङ अफ पिरियड’ छेडखानीको विषय सतहमा आएको छ। उनलाई वैदेशिक रोजगार विभागको डिजी बनाउने निर्णय गरिसकेकाले उक्त निर्णयलाई तत्काल स्थगन गर्न श्रममन्त्री भण्डारीलाई नैतिक संकट देखिएको छ। यसअघिका श्रममन्त्री शरदसिंह भण्डारीले जीवलाल भुसाल वैदेशिक रोजगार विभागको डिजीमा पठाउने निर्णय गरेका थिए। सचिव कर्णले भुसाललाई जान नदिएर कमलप्रसाद भट्टराई विभागको डिजी बनाएरै छाडे। अहिले पनि त्यस्तै परिस्थिति निम्तिएको छ।

क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ