उद्योग विभागको महानिर्देशकमा बस्नेत, ज्ञवाली मन्त्रालय तानिए
काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी आन्तरिक हेरफेर गरेको छ। मन्त्रालयमा कार्यरत सहसचिव जितेन्द्र बस्नेतलाई उद्योग विभागको महानिर्देशक (डिजी)मा पठाउँदै उद्योगका डिजी राजेश्वर ज्ञवालीलाई मन्त्रालय तानेको हो। १४ महिना उद्योग विभागको डिजा चलाएका शक्तिशाली सहसचिव ज्ञवाली मन्त्रालयको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाको जिम्मेवारी दिइएको छ। उक्त महाशाखा प्रमुख विपिन आचार्य कर्णाली प्रदेशतिर पुगेपछि ज्ञवालीले चान्स पारेका छन्। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले उनलाई रोजेको महाशाखा दिएका हुन्।
औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखा प्रमुख बस्नेतलाई उद्योग विभागको डिजीमा पठाउँदै उक्त महाशाखा खोटाङको सिडिओबाट उद्योग छिरेकी कल्पना श्रेष्ठलाई दिइएको छ। बस्नेत काठमाडौंको सिडिओ हाँकेर आएका सहसचिव हुन्।
निर्वतमान मुख्यसचिव एकनारायण अर्यालका ‘खास’ सहसचिव नारायणप्रसाद अर्याललाई प्रशासन तथा संस्थान महाशाखा प्रमुख तोकिएको छ। उनी एकनारायण घर गएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उद्योगतिर फड्को मारेका थिए।
उद्योगको प्रशासन तथा संस्थान महाशाखा प्रमुख हुमकला पाण्डे भने बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखा पुगेकी छिन्। उक्त महाशाखा सुदूरपश्चिम प्रदेश सरूवा भएका सहसचिव देवराज जोशीले हेर्दै आएका थिए। हुमकला उद्योगमा बढी चलखेल गर्ने सहसचिवमा पर्छिन्।
सार्वजनिक खरिद अनुगमन कार्यालयबाट उद्योग मन्त्रालय पुगेका सहसचिव रामबन्धु सुवेदीलाई औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखाको जिम्मेवारी दिइएको छ। उक्त महाशाखा हालै लुम्बिनी प्रदेश सरूवा भएका पूर्व सचिव मधुकुमार मरासिनीका सहोदर भाइ शम्भुप्रसाद मरासिनीले हेर्दै आएका थिए। योजना, अनुगमन तथा मूल्यांकन महाशाखा सल्यानको सिडिओबाट आएका नेत्रप्रसाद सुवेदीले पाएका छन्।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा रोशन ज्ञवालीलाई भने चलाइएको छैन। उद्योगका ज्ञवाली हट्दा वाणिज्यका ज्ञवालीलाई हाइसञ्चो भएको हो।
क्याटेगोरी : विविधट्याग : #जितेन्द्र बस्नेत, #राजेश्वर ज्ञवाली



तपाईको प्रतिक्रिया दिनुहोस