नागरिक सरकारलाई बदनाम गराएर चुनाव लड्न हिँडेका मन्त्रीहरू


समाचार टिप्पणी

काठमाडौं। चुनाव गराउन बनेको नागरिक सरकारलाई बदनाम गराएर केही मन्त्रीहरू आफै चुनाव लड्न गएका छन्। ‘जेन-जी’ आन्दोलनको अवमूल्यन गर्दै उनीहरू चुनाव लड्न गएका हुन्। ति मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्ता।

ऊर्जा, भौतिक र सहरी विकास मन्त्रालय सम्हालेका घिसिङले राज्यको स्रोत साधन दुरूपयोग गरेर उज्यालो नेपाल पार्टी खोले। उक्त पार्टीबाटै घिसिङ प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारीमा छन्। आफू कुनै पार्टीको मान्छे होइन भन्दै सत्तामा रमाइरहेका घिसिङले चर्को आलोचना भएपछि पद छाडेका थिए। नागरिक सरकारका तिनै विश्वासघाती घिसिङ संघीय सांसदमा छिर्ने दाउमा देखिन्छन्।

चुनाव बनाउन बनेको नागरिक सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पनि अन्ततः धोकेबाज बनेका छन्। निर्वाचन उठ्ने कुरामा सत्यता नरहेको सुगा रटान लगाउने मन्त्री खरेल चुनाव गराउने कर्तव्य भुलेर आफै चुनावी मैदानमा खडा भएका छन्। खरेलले ललितपुर-२ तिर चुनाव लड्ने तयारी गरेका हुन्। मन्त्रीमा बसेर झूटको खेती गरेका खरेललाई आम नागरिकले चिन्न जरूरी छ।

अमेरिका उड्न लागेका नागरिक सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता पनि ‘उहीँ ड्याङ्गका उस्तै पिँडालु’ बनेर देखा परेका छन्। अस्तीसम्म चुनाव लड्ने कुरामा सत्यता छैन भन्दै कुर्लिने धोकेबाज गुप्ता सिराहा-१ बाट प्रत्यक्ष निर्वाचन लड्न लागेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको टिकट लिएर सिराहातिर लागेका गुप्ताका केही दिन अघिका अभिव्यक्तिले नै उनी दोहोरो बोली र चरित्रका व्यक्ति हुन् भन्ने प्रस्ट छ। अमेरिका जाने नाममा नागरिक सरकारलाई बदनाम गराएका गुप्ताले पार्टी राजनीतिमा लागेर अर्को बद्नामी कमाएका छन्।

यस्ता दोग्लापन देखाउने मन्त्रीहरूका कारण देश शेष भएको हो। यस्ता विषयमा सचेत नागरिकहरू जागरूक हुन जरूरी छ। बचनका कच्चा व्यक्तिहरूलाई चुनाव जिताएर ठगिनबाट आम नागरिकहरू जोगिनुपर्छ।

क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ