पशुपतिको सम्पत्तिमा वडा कार्यालयको रजाइँ


काठमाडौं। विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र विकास कोष एकदमै संवेदनशील मानिन्छ। विश्व कै आराध्यदेव भगवान् पशुपतिनाथमाथि काठमाडौं महानगरपालिका वडा नम्बर ८ को निकै थिचोमिचो देखिन्छ। वडा कार्यालय कै थिचोमिचोको कारण पशुपति क्षेत्रलाई युनेस्कोले खतराको सूचीमा राख्ने जोखिम बढेको हो।

पशुपतिको मुख्य क्षेत्रभित्र रहेको वेद विद्याश्रमको जग्गामा वडा कार्यालयले आलिसान भवन बनाएको छ। पशुपति क्षेत्रको मुख्य भागमा रहेको उक्त ठाउँमा सेवाग्राहीहरूको निकै भिड हुन्छ। उक्त ठाउँमा संस्कृत पढाइ हुने विद्यालयको जग्गा हडपेर वडा भवन ठड्याइएको छ। वेद विद्याश्रमको पढाइलाई नै ‘डिस्टर्ब’ हुनेगरी वडा भवन बनाएको पाइन्छ।

 

त्यतिले मात्र नपुगेर वडा भवनभित्र रहेको लिच्छविकालीन शिवलिङ्ग समेत बेवारिसे बनाइएको देखिन्छ। उक्त शिवलिङ्ग ढलेको अवस्थामा छ। वडा कार्यालयको कम्पाउण्डभित्र हालिएको उक्त शिवलिङ्गको कन्तबिजोग हुँदा समेत पशुपति क्षेत्र विकास कोष र पुरातत्त्व विभाग बेखबर छ।

पशुपतिको भण्डारखाल बगैंचामा समेत वडा कार्यालयको रजाइँ चलिरहेको छ। पुरातत्त्व विभागको अध्ययन अनुसार नै ३ हजार १ सय वर्ष पुरानो मानिएको उक्त क्षेत्रमा पार्क निर्माण र बाटो खुलाउने नाममा वडा कार्यालयले डोजर चलाएको छ। पशुपति क्षेत्र विकास कोषले समेत पुरातत्त्व विभागको सहमति लिएर मात्र काम अघि बढाउन स्वीकृति दिएकोमा वडा कार्यालयले अन्धाधुन्ध डोजर चलाएर प्राचीन ईंटा र संरचना ध्वस्त बनाएको हो। पुरातत्त्व विभागले तत्काल काम रोक्न लगाएपनि प्राचीन स्मारक ऐन,२०१३ अनुसार कुनै एक्सन लिन सकेको छैन।

भण्डार खाल क्षेत्र कै पार्किङ पनि वडा कार्यालयले हत्याएको छ। सुभाषचन्द्र जोशी निमित्त सदस्यसचिवको जिम्मेवारीमा रहेका बेला वडा कार्यालयले उक्त पार्किङ पाएको हो। निजी सम्पत्ति जस्तो गरेर जोशी र वडाध्यक्ष आसामान संगतले सम्झौता गरेर उक्त पार्किङ लिएका हुन्। कोषको सम्पत्ति हिनामिना गर्ने जोशीलाई आर्थिक अधिकार दिएर सदस्यसचिव प्रकाशमणि भुसालले उल्टै पुरस्कृत गरेका छन्।

पार्किङ छेउमै वडा कार्यालयले अर्को पार्क र स्थायी शौचालय बनाएको छ। पशुपतिनाथको जग्गामा वडा कार्यालयको रजाइँ चलिरहेको पाइन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ