सिडिओ बनेपछि बल्ल सिडिओ हुने तालीम, निर्वाचनलाई ‘डिस्टर्ब’ गर्नेगरी तालीम सञ्चालन
काठमाडौं। मुलुक निर्वाचनमा होमिएको छ। राज्य संयन्त्र निर्वाचन सफल पार्न परिचालन गरिएको छ। लोक सेवा आयोगको परीक्षालाई समेत निर्वाचनले प्रभावित पारेको छ। यस्तो अवस्थामा केही सिडिओ र सहायक सिडिओ सिडिओ बन्ने तालीममा व्यस्त छन्। न्याय सेवा तालीम केन्द्रले सिडिओ बन्ने तालीम सञ्चालन गर्दा कार्यालयको काम समेत प्रभावित हुन थालेको गुनासो आउन थालेको हो। न्याय सेवा तालीम केन्द्रले बिहान ८ बजेदेखि १२ बजेसम्म तालीम लिँदा जिल्ला प्रशासन कार्यालयका काम कारबाही नै प्रभावित बनेको गृहका अधिकारीहरू बताउँछन्। सिंगो देश निर्वाचनमा होमिदा न्याय सेवा तालीम केन्द्रलाई भने तालीम दिन चटारो देखिन्छ।
प्युठानको प्रमुख जिल्ला अधिकारी (सिडिओ) शान्तिराज प्रसाईं र डोल्पाकी सिडिओ जुनु हमाल ढकाल बल्ल सिडिओ बन्ने तालीम लिँदैछन्। निर्वाचनको मुखमा जिल्लाका सुरक्षा कमाण्डर प्रसाईं सिडिओ हुने तालीममा ४ घण्टा अल्मलिने गरेका छन्। यस्तो अवस्थामा निर्वाचन आयोग र गृह मन्त्रालयले पनि तालीममा सहभागी नहुन निर्देशन दिन सकेको छैन। न्याय सेवा तालीम केन्द्रले पनि उक्त तालीमलाई रोकेको देखिँदैन।
सिडिओ हुन तालीम नै नलिएका व्यक्तिलाई सिडिओमा पठाउनु गृह मन्त्रालयको कमजोरी हो। बेथिति यस्तै कारणले निम्तिने हो भन्ने कुराको हेक्का गृह मन्त्रालयले राख्न सकेको छैन। जिल्ला प्रशासन कार्यालय कमजोर हुने यस्तै कारणले हो।
प्युठानका सिडिओ प्रसाईं र डोल्पाकी सिडओ जुनु मात्र होइन रौतहटका सहायक सिडिओ जितेन्द्र कुमार यादव र कञ्चनपुरका सहायक सिडिओ मोहनचन्द्र जोशी पनि सिडिओ बन्ने तालीम लिइरहेका छन्। उनीहरू ४ घण्टा ‘जुम’मा झुम्म हुँदा चुनावको सुरक्षा रणनीतिमाथि नै असर पर्न थालेकाे हो।
न्याय सेवा तालीम केन्द्रले कानुन नपढेका सहसचिव र उपसचिवलाई सिडिओ बन्न कानुन र न्यायसम्बन्धी तीन महिने तालीम दिने गरेको छ। निर्वाचनको मुखमा ३५ जनालाई न्याय सेवा तालीम केन्द्रले तालीममा हालेको हो। उक्त विषयमा निर्वाचन आयोग वेखबर देखिन्छ।
तालीममा गृह मन्त्रालयका सहसचिव निराजन घिमिरे, महालेखा नियन्त्रक कार्यालयको सहसचिव यमुना प्रधान र कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहसचिव लक्ष्मीकुमार वि. क. सहभागी छन्।
उपसचिवहरू आत्मराम सत्याल, कुमारप्रसाद कोइराला, ज्ञानराज कोइराला, गोमादेवी ढकाल पौडेल, प्रकाश शर्मा ढकाल भुवनेश्वर लामिछाने, चेतनाथ अर्याल, ममता बास्तोला, रमिला भण्डारी, दिपक ढकाल, शान्ता कडरिया, राजेश्वरी खत्री सापकोटा, सूर्यप्रसाद चापागाईं, पूर्णबहादुर खत्री, मोहनप्रसाद कोइराला, धनेश्वर पौडेल, आनन्द कुमार ठाकुर र शारदा चालिसे तीन महिने तालीममा सहभागी रहेका छन्।
त्यस्तै उपसचिव आशिष अर्याल, अमरबहादुर वली, अच्युत ढुंगाना, सुदर्शन श्रेष्ठ, शान्ती विश्वकर्मा, रमा भट्टराई, अर्जुन राई, शंकरराज पाठक, श्रीकृष्ण पौडेल, रामकृष्ण श्रेष्ठ र दिपेन्द्र कुमार खत्री उक्त तालीम लिइरहेका हुन्। निर्वाचनको समयमै तालीम सञ्चालन गर्दा जिल्ला प्रशासन कार्यालय भने प्रत्यक्ष मारमा परेका छन्।
क्याटेगोरी : समाचारट्याग : #जुनु हमाल, #शान्तीराज प्रसाईं



तपाईको प्रतिक्रिया दिनुहोस