‘५ करोड खुवाएर’ पुनर्नियुक्ति भएका हङकङ आईडीवाला चिनियाँ लामा पदमुक्त
काठमाडौं। बौद्ध तथा मेलम्ची घ्याङ गुठीका चिनियाँ लामा भूपतिबज्र लाम पदमुक्त भएका छन्। गुठी संस्थान सञ्चालक समितिले चिनियाँ लामालाई पदमुक्त गरेको हो। केही दिनअघि बसेको गुठी संस्थान सञ्चालक समितिले चिनियाँ लामा भूपतिबज्रलाई पदबाट हटाउने निर्णय गरेको स्रोतले बतायो।
तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई ५ करोड खुवाएर पुनर्नियुक्ति भएका चिनियाँ लामालाई पदमुक्त गरिएको हो। भूमि व्यवस्था मन्त्री प्रा.डा. कुमार इङनामलाई घूस खुवाएर चिनियाँ लामामा पुनर्नियुक्ति भएको उजुरी परेको थियो। उक्त विषयको जानकारी पाएपछि मन्त्री इङनामले विवादित चिनियाँ लामालाई हटाउन निर्देशन दिएका थिए। मन्त्रीको निर्देशनपछि गुठी संस्थानले प्रक्रिया मिलाएर चिनियाँ लामा भूपतिबज्रलाई पदमुक्त गरिएको हो।
चिनियाँ लामा भूपतिबज्र हङकङ ‘आईडी’वाला हुन्। कानुन अनुसार विदेशी नागरिकता लिएका व्यक्तिलाई सार्वजनिक/सरकारी पदमा नियुक्त गर्न मिल्दैन। तर, आर्थिक चलखेलका आधारमा तत्कालीन भूमिमन्त्री अधिकारीले भूपतिबज्रलाई चिनियाँ लामामा पुनर्नियुक्ति गराएका थिए। मन्त्री अधिकारीको जोडबलमा गुठी संस्थानले भूपतिबज्रलाई चिनियाँ लामामा पुनर्नियुक्ति गरेको हो। त्यो विषय उजागर गरेपछि भूमि मन्त्री इङनामले चिनियाँ लामामाथि एक्सन लिन गुठी संस्थानलाई निर्देशन दिएका थिए। उनकै निर्देशन अनुसार गुठी संस्थानले चिनियाँ लामालाई पदमुक्त गरेको छ।
क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस