टेकु अस्पतालमा डा. अनुप बास्तोलाको औपचारिक स्वागत, ‘विषम परिस्थितिमा नेतृत्व गरेका व्यक्ति’


काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ११ महिना सेवा गरेपछि डा. अनुप बास्तोला पुनः शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकको जिम्मेवारीमा फर्किएका छन्। उनको पुनरागमनका अवसरमा अस्पताल परिसरमा औपचारिक स्वागत कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव तथा टेकु अस्पताल विकास समिति सदस्य मित्र घिमिरेले डा. बास्तोलाको नेतृत्व क्षमताको प्रशंसा गर्दै अस्पताल सही व्यक्तिको हातमा पुगेको बताएका छन्। “राम्रो व्यक्तिको नेतृत्वमा अस्पताल पुगेको छ। डा. बास्तोला विषम परिस्थितिमा पनि नेतृत्व गरेका व्यक्ति हुन्। अब फरक ढंगबाट सेवा अगाडि बढोस्,” उपसचिव घिमिरेले भने।

उनले मन्त्रालयको तर्फबाट सधैं साथ र सहयोग रहने स्पष्ट पार्दै थपे, “हिजो मन्त्रालयमा रहँदा उहाँको भूमिका फरक थियो, अहिले अस्पतालको नेतृत्वमा हुनुहुन्छ। अब सबैलाई मिलाएर, समन्वय गरेर अघि बढ्नुपर्नेछ।” साथै, डा. बास्तोलाको विज्ञतालाई राज्य र नागरिक दुवैले भरपुर उपयोग गर्न पाउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।

स्वागत कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष डा. दिपेन्द्र रमण सिंहले डा. बास्तोलालाई ‘आशाका लिडर’ का रूपमा चित्रण गर्दै उनको योगदान इतिहासमा रहने बताए। “डा. बास्तोला आशाका लिडर हुन्। ११ महिना मन्त्रालयमा बसेर धेरै कुरा सिकेर फर्किनु भएको छ,” अध्यक्ष सिंहले भने, “विगतमा उहाँले टेकु अस्पतालमा गर्नुभएको काम इतिहासमा रहन्छ।”


उनले कोभिड–१९ महामारीको दोस्रो भेरियन्टको समयमा डा. बास्तोलाले खेलेको भूमिकालाई विशेष रूपमा स्मरण गर्दै भने, “कोभिडको सेकेण्ड भेरियन्टमा उहाँले ठूलो लडाइँ लड्नुभयो। प्रयोगमा नआएका भेन्टिलेटरले पनि त्यस समयमा धेरै ज्यान बचाएका थिए।”

स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त निर्देशक डा. अनुप बास्तोलाले आम नागरिकले अस्पतालसँग धेरै ठूलो अपेक्षा नराखेको उल्लेख गर्दै चुस्त सुशासन र गुणस्तरीय सेवा नै जनताको मुख्य माग भएको बताए। “आम नागरिकले धेरै केही खोजेका छैनन्, चुस्त सुशासन चाहिएको हो। सेवामा गुणस्तर कायम हुनुपर्छ भन्ने नै जनताको माग हो,” उनले भने।

उनले लामो समयदेखि रोकिएको सरुवा रोग अस्पताल निर्माण प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाउँदै वित्तीय अनुशासनलाई प्राथमिकतामा राखिने स्पष्ट पारे।
“सरुवा रोग अस्पताल बन्ने काम रोकिएको छ, यसलाई अगाडि बढाउनुपर्छ। वित्तीय अनुशासन आवश्यक छ,” उनले भने।

डा. बास्तोलाले ३०० शैय्याको अस्पताल विस्तारसम्बन्धी फाइल राष्ट्रिय योजना आयोगमा रोकिएको जानकारी आफूले पाएको उल्लेख गर्दै त्यसलाई अगाडि बढाउन पहल गर्ने बताए। “३०० शैय्याको फाइल राष्ट्रिय योजना आयोगमा रोकिएको जानकारी पाएको छु, त्यसलाई अगाडि बढाउन लाग्छु,” उनले भने।

स्वागत कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी उपस्थिति रहेको थियो। डा. बास्तोलाको पुनरागमनसँगै टेकु अस्पतालको सेवा सुधार, सरुवा रोग उपचार, अनुसन्धान तथा जनस्वास्थ्य निगरानी थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ