पशुपति क्षेत्रमा बेथितिको पराकाष्ठा
समाचार टिप्पणी
काठमाडौं। विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा बेथितिले सीमा नाघेको छ। युनेस्कोले खतराको सूचीमा राख्ने गरी पशुपति क्षेत्रमा गतिविधि भएको पाइन्छ। उक्त विषयमा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मौन बसेको देखिन्छ।
३१ सय वर्ष पुरानो अवशेष भेटिएको पशुपति क्षेत्रको भण्डारखाल क्षेत्रमा डोजर चल्दा समेत पुरातत्त्व विभागले भेउ पाएन। प्राचीन स्मारक संरक्षण ऐन, २०१३ ले त्यस्ता संरचनाको संरक्षण गर्न विभागले कानुनी रूपमा शक्तिशाली बनाएको छ। तर, पार्क बनाउने नाममा कंक्रिट हाल्ने गरी डोजर चलाउदा समेत विभागले कुनै एक्सन लिन सकेको छैन।
भण्डारखाल क्षेत्रमा काठमाडौँ महानगरपालिका वडा नम्बर ८ को सक्रियामा डोजर चलाउदा लिच्छविकालीन संरचनामा समेत क्षति पुगेको छ। यो विषयमा आवश्यक कारबाही हुन जरूरी छ।
भण्डारखाल क्षेत्र कै पार्किङ समेत कोषले काठमाडौं महानगरपालिका वडा नम्बर ८ लाई सुम्पिएको छ। कोषको निमित्त सदस्यसचिवको जिम्मेवारीसुभाषचन्द्र जोशीले सम्हाल्दा निजी सम्पत्ति जस्तो उक्त पार्किङ वडा कार्यालयलाई सुम्पिएका हुन्। सदस्यसचिव बन्नका लागि उनले कोषमाथि अत्याचार गरेको पाइन्छ।
भण्डारखाल क्षेत्रमा कंक्रिटका संरचना बनिरहँदा समेत पुरातत्त्व विभागको ध्यान गएको छैन। युनेस्को, सर्वोच्च अदालत र पुरातत्त्व विभागले बन्द गराएको तिलगंगा-गुहेश्वरी मार्ग रातारात खुलाइएको छ। जोशी निमित्त सदस्यसचिव भएपछि उक्त बाटोमा सवारी साधन गुड्न थालेका हुन्। यो विषय समेत पुरातत्त्व विभागले कुनै एक्सन लिन सकेको छैन।
पशुपति क्षेत्र विकास कोषमा निजी सेक्युरिटी कम्पनी बज्र र कोषका गरेर ६० जना सुरक्षाकर्मी रहेका छन्। यो ठूलो संख्यामा सुरक्षाकर्मी पालेको कोषले उक्त बेथितिले पराकाष्ठा नाध्दा समेत रोक्न सकेको देखिँदैन। सशस्त्र प्रहरीबाट अवकाश भीम बुढाथोकीलाई सुरक्षा प्रमुख राखेर कोषले उल्टै बेथिति बढाएको पाइन्छ।
बनकालीबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने गेट नै ढाकेर फूल बेच्ने गरिरहेका छन्। दर्शनार्थीलाई वाक्क पार्ने गरी प्रवेशद्वारमै बसेर व्यापार गर्दा समेत कोषका सुरक्षाकर्मी सेटिङमा मस्त छन्। किरियापुत्री भवन आसपासको क्षेत्रमा गुणस्तरहीन सिलाजित, यर्सागुम्बाको खुलेआम व्यापार हुने गरेको छ। बी-१३ एरियामा गाँजाको व्यापार खुलेआम हुँदा समेत उक्त क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरू मुकदर्शक बनेर बसिरहेका छन्।
फोहोर व्यवस्थापनमा समेत उचित तरिकाले हुन सकेको छैन। नियमित ढंगले सरसफाई हुन सकेको छैन्। हरेक कुरामा बेथिति देखिन्छ। कोषका पदाधिकारीहरूको यस्ता कुरामा ध्यानाकर्षण हुन जरुरी छ ।
क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस