महाशिवरात्रि तयारी सुरू, मूल समारोह समिति गठन गर्ने परिषद्को निर्णय


काठमाडौं। महाशिवरात्रि पर्व-२०८२ को तयारी सुरू भएको छ।पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्को बैठकले महाशिवरात्रि पर्वलाई व्यवस्थित, सुरक्षित, भव्य, सभ्य तथा दिव्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ। उक्त कार्यका लागि मूल समारोह समिति तथा आवश्यक विभिन्न उपसमितिहरू गठन गर्ने समेत परिषद्ले निर्णय गरेको हो।

आइतबारका दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं परिषद्का अध्यक्ष अनिल कुमार सिन्हाको अध्यक्षतामा बसेको बैठकले महाशिवरात्रि पर्व-२०८२ मनाउनका लागि आवश्यक निर्णय लिएको हो। परिषद्को बैठकमा राष्ट्रिय योजना आयोगको सदस्य सुनीती श्रेष्ठ हाडा, काठमाडौं महानगरपालिकाकी कार्यबहाक प्रमुख सुनिता डंगोल, गृहसचिव राजकुमार श्रेष्ठ, भौतिक सचिव केशवकुमार शर्मा बिडारी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, कोषका सदस्यसचिव प्रकाशमणि शर्मा भुसाल, कोषाध्यक्ष श्रीधर सापकोटा, गुठी संस्थानका अध्यक्ष रमेशप्रसाद पोखरेल, सदस्यहरू रामेश्वर संगत, हरिनाथ ढकाल, भरतप्रसाद बडाल, बाबुशरण सुवेदी, क्षितिज पराजुलीलगायतको उपस्थिति रहेको थियो। भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका सदस्य राजु खत्रीबाहेक १६ जना परिषद्को बैठकमा उपस्थित भएका हुन्।

विश्वकै अनुपम धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक महत्व बोकेको महाशिवरात्रि पर्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मर्यादित र अनुकरणीय बनाउने प्रतिबद्धता समेत बैठकमार्फत व्यक्त गरिएको छ। परिषद् बस्न ढिला भएकाले महाशिवरात्रि तयारी समेत प्रभावकारी देखिएको थिएन। फागुन ३ गते परेको महाशिवरात्रि मनाउन परिषद्ले बैठक बसेर आवश्यक निर्णय लिएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ