लागूऔषध नियन्त्रणसम्बन्धी चारदिने राष्ट्रिय प्रशिक्षण सम्पन्न,मानसिक स्वास्थ्य र पुनर्स्थापनामा जोड


काठमाडौं । रिकभरिङ् नेपालकाे आयाेजनामा लागूऔषध नियन्त्रणसम्बन्धी चारदिने राष्ट्रिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मानसिक स्वास्थ्य र पुनर्स्थापनामा जोड दिइएको छ ।

लागूऔषध नियन्त्रणसम्बन्धी व्यवस्था र कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्यले चारदिन सम्म राष्ट्रिय प्रशिक्षण कार्यक्रम सञ्चालन भएको थियो।

देशभरका ३५ वटा पुनर्स्थापना केन्द्र (रिह्याब) बाट सहभागी स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त कार्यक्रम लागूऔषध दुव्यसन न्यूनीकरण र उपचार सेवाको गुणस्तर अभिवृद्धिमा केन्द्रित थियो।
लागूऔषध दुव्यसनमा फसेका युवा–युवतीहरूमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या उच्च हुने भएकाले यस प्रशिक्षणलाई विशेष महत्वका साथ हेरिएको आयोजकहरूले बताएका छन्। कार्यक्रमले उपचार,पुनर्स्थापना,समन्वय र कानुनी पक्षबारे सहभागीहरूलाई व्यावहारिक ज्ञान प्रदान गरेको जनाइएको छ।

कार्यक्रममा बोल्दै गृह मन्त्रालयका उपसचिव नवराज जैशीले लागूऔषधमुक्त,स्वस्थ र समुन्नत समाज निर्माण राष्ट्रिय रणनीतिको दीर्घकालीन लक्ष्य भएको बताए। उनले चार दिनको प्रशिक्षणबाट सहभागीहरूले हासिल गरेको सीप र ज्ञानले धेरै युवाको जीवन सुरक्षित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

“समस्या रहित समाज कतै हुँदैन। चुनौतीकै बीचबाट अवसर खोज्नुपर्छ। यो प्रशिक्षण त्यही अवसर खोज्ने साझा थलो बनेको छ,”उनले भने। उपसचिव जैशीलेलागू औषध नियन्त्रण ऐन,२०३३का प्रमुख प्रावधानबारे पनि जानकारी गराएका थिए। उनका अनुसार ऐनले लागूऔषधको खेती, उत्पादन,निर्माण,खरिद–बिक्री,सञ्चय,ओसारपसार,सेवन तथा आयात–निर्यातमा नियन्त्रण गर्ने स्पष्ट व्यवस्था गरेको छ। साथै मुद्दा नचलाउने वा सजाय छुट दिने अधिकार,मुद्दा हेर्ने अधिकारी तथा पुनरावेदनसम्बन्धी व्यवस्था,म्याद थपसम्बन्धी विशेष प्रावधान,चिकित्सकलाई उपचारका लागि दिइने विशेष छुट र सेवनकर्तालाई उपचार केन्द्र पठाउने कानुनी प्रावधानसमेत ऐनमा समावेश छन्।

कार्यक्रमपश्चात् सहभागीहरूले प्रशिक्षणलाई उपलब्धिमूलक रहेको प्रतिक्रिया दिएका छन्। इटहरीकी सहभागी सुनिता गिरीले प्रशिक्षणबाट सेवा प्रवाहका व्यावहारिक पक्ष सिक्न पाएको बताउँदै आयोजकप्रति आभार व्यक्त गरिन्।“कसरी प्रभावकारी सेवा दिने भन्ने विषयमा स्पष्टता पायौं। सिकेका कुरालाई व्यवहारमा लागू गर्नेछौं। यस्ता तालिम अझ प्रायोगिक बनाइए प्रभाव अझ बढ्छ,”उनले भनिन्। पछिल्लो समय विद्यालय तहदेखि नै युवाहरू कुलतमा फस्दै गएको उल्लेख गर्दै उनले रोकथामका प्राथमिक उपायबारे ज्ञान प्राप्त गर्नु प्रशिक्षणको मुख्य उपलब्धि भएको बताइन्।

अर्का सहभागी दिव्यले प्रशिक्षणले कम्तीमा केही युवाको जीवन बचाउन सहयोग पुर्‍याउने दाबी गरे।“समन्वयको पक्षबारे स्पष्ट बुझ्न पाइयो। जीवन रक्षा र पुनर्स्थापनामा यस्तो प्रशिक्षणको महत्वपूर्ण भूमिका रहने देखियो,”उनले भने।
यस प्रशिक्षणले लागूऔषध नियन्त्रण,उपचार र पुनर्स्थापनाको क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्दै स्वस्थ र सुसंस्कृत समाज निर्माणतर्फ महत्वपूर्ण कदम चालेको विश्वास लिइएको छ।

क्याटेगोरी : समाचार
ट्याग : ##RN

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ