रंगेहातमा भ्रष्टाचारी ठहर भएका उपसचिव नेपाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटालामा पनि डामिए
काठमाडौं। घुस रकमसहित रङ्गेहात पक्राउ परेर विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल फेरि भ्रष्टाचार मुद्दामा डामिएका छन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा परामर्शदाता नियुक्ति गर्दा नेपाल भ्रष्टाचारमा डामिएका हुन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरण अन्तर्गत राष्ट्रिय गौरव आयोजनाका तत्कालीन उपप्रबन्धक नेपालविरूद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीविरुद्ध अख्तियारले ८ करोड ९५ लाख २ हजार ७८० रुपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ। घुस काण्डमा दोषी ठहर भएर जेलको हावा खाइसकेका नेपाललाई अर्को भ्रष्टाचारको मुद्दा थपिएको हो।
प्याराग्लाइडिङ उडानका लागि अनुमति प्रदान गर्दा घुस लिएको फेला परेपछि नागरिक उड्डयन महाशाखामा कार्यरत सिनियर एयर ट्राफिक कन्ट्रोल अफिसर (सिनियर एटीसी अफिसर) नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर भ्रष्टाचार मुद्दा चलाएको थियो। उक्त मुद्दामा नेपाल दोषी ठहर भएको दुई वर्षपछि नेपाललाई अर्को भ्रष्टाचारको मुद्दा दायर भएको हो।
सरकारी छात्रवृत्तिमै बेलायतमा अध्ययन गरेर फर्किएका नेपाल नागपोखरीस्थित होटल अरण्यको परिसरबाट साढे २२ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका थिए। त्यसपछि अख्तियारले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलायो। उक्त ‘केस’मा अदालतबाट भ्रष्टाचारमा दोषी ठहर भएपछि जागिर गुमाएका नेपाल फेरि अर्काे भ्रष्टाचार मुद्दामा डामिएका हुन्।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तरका ‘गोल्ड मेडलिष्ट’ नेपाल भ्रष्टाचारमा पनि ‘गोल्ड मेडलिष्ट’ नै हुने सम्भावना बढेको हो।
क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस