आजपा प्रवक्ता सीबी साहद्वारा सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा


काठमाडौं । आम जनता पार्टी (आजपा) मा स्थापना कालदेखि अनवरत एकल प्रवक्ताका रूपमा परिचित चन्द्र भूषण साह (सीबी साह) ले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट औपचारिक रूपमा अलग भएको घोषणा गरेका छन् ।

सीबी साहले मंगलवार सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन्, “आजबाट छठी मातालाई साक्षी राखेर आम जनता पार्टीको सम्पूर्ण जिम्मेवारीबाट औपचारिक रूपमा अलग भएको घोषणा गर्दछु । यो अभियानले मलाई धेरै सिकायो, धेरै तितामिठा अनुभव दिलायो, जसले मलाई अझ परिपक्व बनाएको छ ।” उनले पार्टीमा बिताएको समयलाई जीवनको महत्वपूर्ण सिकाइका रूपमा लिँदै साथ, सहयोग र विश्वास गर्ने सम्पूर्णप्रति कृतज्ञता समेत व्यक्त गरेका छन् । साथै, यो एउटा अध्यायको अन्त्य भए पनि देश, जनता र समाजप्रतिको आफ्नो समर्पण कहिल्यै अन्त्य नहुने स्पष्ट पारेका छन् ।

विगत लामो समयदेखि पार्टी अध्यक्ष प्रभु साहका निकट मानिने सीबी साहले पार्टीमा केन्द्रीय कार्यालय सदस्य (उपमहासचिव तथा प्रवक्ता), पार्टी उपत्यका विशेष प्रदेश कमिटीका ईन्चार्ज, प्रचार प्रसार विभागका ईन्चार्ज लगायतका महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए ।

क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ