ताप्लेजुङमा काजका चिकित्सकको रजगज: खरिद सेटिङ मिलाउन दरबन्दीका डाक्टरकाे नै काज सरुवा


काठमाडौं । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दी नभएका जिल्लामा सेवा प्रवाह सुधार गर्ने उद्देश्यले तीन वर्षअघि विभिन्न अस्पतालमा मेडिकल अधिकृत काजमा पठाएको थियो। तर, त्यही काज प्रणाली अहिले विकृत बन्दै गएको देखिएको छ।

काजमा गएका चिकित्सकले नागरिक सेवा भन्दा पनि खरिद ‘सेटिङ’ मिलाउन शक्ति प्रयोग गर्ने र दरबन्दीका चिकित्सकलाई समेत हटाउने स्तरसम्म पुगेको छ।

अहिले प्रदेश लोकसेवा आयोगमार्फत दरबन्दीअनुसार चिकित्सकहरू अस्पतालमा पुगिसकेका छन्। तर, संघीय मन्त्रालयले काज फिर्ता नगर्दा काजका चिकित्सक नै शक्तिशाली बनेर अस्पताल सञ्चालनमा हस्तक्षेप गर्ने अवस्थाकाे सिर्जना भएको छ।

खरिद ‘सेटिङ’ नमिल्दा सरुवा

ताप्लेजुङ जिल्ला अस्पतालमा काजमा कार्यरत डा. प्रनाम जयरुले उपकरण खरिदमा ‘सेटिङ’ नमिल्दा दरबन्दीका चिकित्सकलाई मानसिक यातना देखि काज सरुवा नै गराएको आरोप लागेको छ।

स्रोतका अनुसार अस्पतालमा सि-आर्म र डिजिटल एक्स-रे (DR X-ray) मेसिन खरिद गर्ने विषयमा विवाद भएको थियो। निश्चित सप्लायरलाई जिम्मा दिने विषयमा असहमति जनाएपछि दरबन्दीमा कार्यरत डा. प्रतिभा महतोकाे जिल्ला अस्पताल संखुवासभामा काज सरुवा गरिएको छ । यश विषयमा प्रदेश सचिव डा यधुचन्द्र घिमिरेले अल्याङ्टल्याङ जवाफ दिए । बाँकी विषय बाेल्न चाहेनन् ।

तीन वर्षअघि काजमा आएका चिकित्सकले नै दरबन्दीका चिकित्सक हटाउन भूमिका खेलेको घटनाले स्वास्थ्य प्रशासनभित्रको शक्ति सन्तुलनमै प्रश्न उठाएको छ। उता ताप्लेजुङ जिल्ला समन्वय समितिका प्रमुखले डा जयरुमाथि कारबाही गर्न प्रधानमन्त्री कार्यालयमै उजुरी दिएको बताए ।

‘काज’को आडमा शक्ति दुरुपयोग

ताप्लेजुङ अस्पतालका कर्मचारीहरूका अनुसार डा. जयरुको कार्यशैलीप्रति व्यापक असन्तुष्टि छ। काजमा आएका चिकित्सकले नै अस्पतालमा प्रभाव जमाउँदै कर्मचारीमाथि दबाब सिर्जना गर्ने र निर्णय प्रक्रियामा हस्तक्षेप गर्ने गरेको आरोप छ।

स्वास्थ्य सेवा सुधारभन्दा पनि उपकरण खरिद र आर्थिक पक्षमा बढी चासो देखिएको भन्दै स्थानीय तह समेत असन्तुष्ट बनेको छ।

संघीय मन्त्रीलाई नै चुनौती?

यो प्रकरणले अर्को गम्भीर प्रश्न उठाएको छ—काजमा रहेका चिकित्सकले संघीय सरकार र मन्त्रीलाई नै चुनौती दिएका हुन् कि?

स्वास्थ्य तथा जनसंख्या मन्त्रीले काजमा रहेका चिकित्सकलाई आफ्नै दरबन्दीमा फिर्ता गर्ने अभियान अघि बढाइरहेकी छन्। तर, व्यवहारमा भने काजका चिकित्सकले दरबन्दीका चिकित्सकलाई ‘सेटिङ’का आधारमा अन्यत्र पठाएर आफू नै पद जोगाइराख्ने अवस्था देखिएको छ।

दरबन्दीका चिकित्सक आफ्नो स्थानमा पुग्दा पनि उनीहरूलाई काजमा धकेल्ने र आफू भने पदमा जकडिएर बस्ने प्रवृत्तिले संघीय मन्त्रालयको निर्देशन र समग्र सरकारको अधिकारमाथि नै ठाडो चुनौती दिएको विश्लेषण गरिएको छ।

स्थानीय नेतृत्व आक्रोशित

जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाले विवादित चिकित्सकलाई तत्काल फिर्ता गर्न माग गरेका छन्। उनले भने, “पहिले दरबन्दी नभएर संघले चिकित्सक पठाएको हो, अहिले दरबन्दीका चिकित्सक आइसकेका छन्। काजमा आएको व्यक्ति नै अस्पताल चलाउने र मनपरी गर्ने अवस्था स्वीकार्य हुँदैन।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव दिवश आचार्यले यस विषयमा उजुरी आएको बताए । चाडैं उनकाे विषयमा मन्त्राालयले सम्बाेधन गर्ने आचार्यले बताए । सरकारले एउटै व्यक्ति लामाे समय काजमा राख्दा अराजकता बढ्दै जानेछ ।

काज प्रणालीलाई व्यवस्थित नगर्ने हो भने सेवा प्रवाहभन्दा ‘सेटिङ’ हावी हुने र सरकारको विश्वसनीयतामाथि नै प्रश्न उठाइरहनेछन्।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ