उद्योग मन्त्रालयमा रजगज गरिरहेका एमाले सत्ताका दुई शक्तिशाली सहसचिव


काठमाडौं। नेकपा एमालेको सत्तामा शक्तिशाली रहेका दुई सहसचिवको अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रजगज चलिरहेको छ। एमाले सत्तामा आकर्षक ठाउँमा राज गरेका सहसचिवहरू राजेश्वर ज्ञवाली र नारायणप्रसाद अर्याल अहिले उद्योग मन्त्रालयमा भेला भएका छन्। एमाले सत्तामा हुँदा विभिन्न आकर्षक ठाउँमा बसेर तरमारेका सहसचिवद्वय ज्ञवाली र अर्यालले अहिले उद्योगमा ‘सेफ ल्याण्डिङ’ गरेका हुन्।

काठमाडौं महानगरपालिकाबाट एकैचोटी सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालय पुगेका सहसचिव ज्ञवाली आङछिरिङ शेर्पा र इश्वर पोखरेलको जोडबलमा नेपाल ट्रष्टको कार्यालय फर्किएका थिए। काठमाडौं महानगरपालिकामा सचिव कार्यकारी अधिकृत हुँदा ‘सेकेन्ड-म्यान’को हैसियतमा रहेका ज्ञवालीलाई लालबाबु पण्डित सामान्य प्रशासन मन्त्री हुँदा केपी शर्मा ओली पत्नी राधिका शाक्यको नातेदारको ‘कम्प्लेन’का आधारमा काठमाडौंबाट ‘डाँडा कटाएर’ सुदूरपश्चिम प्रदेश पठाइएको थियो। त्यसपछि आङछिरिङ र इश्वर पोखरेलसँग घनिष्ठ सम्बन्ध स्थापित गरेर उनी संघीय राजधानी फर्किए।

आङछिरिङको यती ‘ग्रुप’लाई गोकर्ण फरेष्ट रिसोर्टलाई सम्झौता समय अवधि बाँकी छँदै कानुन नै फेरेर लिज अवधि थप्न ज्ञवालीले सहजीकरण गरेका थिए। नेपाल ट्रष्टको अध्यक्ष इश्वर पोखरेल रहेका बेला यतीको पक्षमा निर्णय गर्न भूमिका खेले’बापत’ ज्ञवालीलाई एकैचोटी नेपाल ट्रष्ट र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको थियो। त्यति मात्र होइन उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको स्वार्थमा यतीको पक्षमा निर्णय गर्न विशेष क्षमता देखाएपछि काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको समेत जिम्मेवारी दिइएको थियो। नेपाल ट्रष्टको सहसचिव र काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएका बेला दुबै तर्फबाट काठमाडौं प्लाजा भाडामा लिन/दिन ज्ञवालीले नै दोहोरो सहजीकरण र निर्णय गरेका थिए। विद्यासुन्दर शाक्य काठमाडौं महानगरपालिकाको मेयर हुँदा ज्ञवाली निकै हर्ताकर्ता बने।

टेकुमा काठमाडौं महानगरपालिकाले टेकुमा प्रशासकीय भवन निर्माणको ठेक्का समानान्तर निर्माण सेवालाई दिँदा ज्ञवालीले नै मुख्य भूमिका खेलेका थिए। उक्त भवन निर्माणमा ठूलो अनियमितता भएको पाइएपनि उनी भ्रष्टाचार मुद्दा लाग्नबाट जोगिए, जोगाइए। उनी सबैतिर सेटिङ मिलाउन सफल देखिए।

 

त्यसपछि काठमाडौं महानगरपालिका छाडेर ज्ञवाली चर्चित बिचौलिया दिपक भट्ट निकट हुँदै अर्थ मन्त्रालय भित्रिए। अर्थ मन्त्रालय भित्रिएपछि भट्टसँगको सेटिङमा ज्ञवाली राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्ष बन्न सफल भए। बीमामा उनले दिपक भट्टको डिजाइनमा काम गरेको आरोप लाग्दै आएको छ।

ज्ञवालीलाई तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले सहसचिवका लागि आकर्षक मानिने ठूला करादाता कार्यालयको हाकिम बनाए। उनी महालेखा नियन्त्रक कार्यालयमा बसेर समेत सरूवा सेटिङ मिलाउन सफल सहसचिवमा ‘दर्ज’ भएका थिए। अर्थबाट राष्ट्रिय योजना आयोग हुँदै ज्ञवाली केपी शर्मा ओलीको रोजाइमा उद्योग विभागको महानिर्देशक बनेका थिए।ओली सत्तामा १४ महिना उद्योग विभागको डिजी चलाएका शक्तिशाली सहसचिव ज्ञवाली अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुखको भूमिकामा छन्। उद्योग विभागको डिजी हुँदा ज्ञवालीले गर्न सक्ने सबै काम गरेको चर्चा चल्दै आएको छ।

ओली सत्ताका शक्तिशाली सहसचिव ज्ञवाली नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल परिवहन तथा गोदाम व्यवस्था कम्पनी अध्यक्ष र नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकको थप भूमिका फुत्काउन सफल भएका हुन्। ओली सत्ताका शक्तिशाली सहसचिव ज्ञवालीको बालेन सरकार आइसक्दा पनि उद्योग मन्त्रालयमा रजगज जारी छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रजगज गरिरहेका अर्का सहसचिव हुन् नारायणप्रसाद अर्याल। सरकारी सेवामा पूर्वमुख्यसचिव एकनारायण अर्याललाई परिक्रमा गर्दै जागिर खाएका नारायण अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखा प्रमुखको भूमिकामा रहेका छन्।

केपी ओली प्रधानमन्त्री हुँदा उनी निकट भएर मन्त्रिपरिषद्को बैठक हेरेका नारायण अहिले उद्योगमा पुगेर प्रशासनको कमाण्ड सम्हालिरहेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन, गृहलगायत मन्त्रालयमा जमेर बसेका नारायणप्रसाद अर्याल प्रदेश नजाने सहसचिवमा पर्छन्। ओली सत्तामा लाभ लिएका उनी अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रजगज गरेर बसिरहेका छन्। एमाले सत्तामा हालिमुहाली गरेका सहसचिव नारायण बालेन सरकारमा पनि उद्योगमा बसेर रजगज गर्नु आश्चर्यको विषय बनेको छ।

ओली सत्ताका शक्तिशाली सहसचिव राजेश्वर र नारायण मिलेर बालेन सरकारका पालामा पनि उद्योग मन्त्रालयमा तहल्का पिटिरहेका छन्। ओली सत्ताका शक्तिशाली सहसचिव राजेश्वरलाई अन्यत्र व्यवस्थापन गरेर नारायणलाई प्रदेश खटाउन बालेन सरकारले तत्काल कदम चाल्नु पर्ने देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #नारायणप्रसाद अर्याल, #राजेश्वर ज्ञवाली

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ