जलेका सवारीको नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलेका सवारी साधनको नाममा इन्धन दुरुपयोग भएको भन्ने आरोप असत्य रहेको स्पष्ट पारेको छ।
मन्त्रालयले सहसचिवस्तरको छानबिन समितिबाट गरिएको अध्ययनपछि यस्तो निष्कर्ष सार्वजनिक गरेको हो।
मन्त्रालयले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रहरी मुचुल्का, इन्धनसम्बन्धी अभिलेख तथा भुक्तानी विवरणको अध्ययनपछि जलेका सवारी साधनको नाममा इन्धन दुरुपयोग नभएको पुष्टि भएको जनाएको छ।
यद्यपि, मन्त्रालय स्रोतका अनुसार पछिल्लो समय बिचौलिया समूहले आफू अनुकूल काम नगरेपछि कर्मचारीमाथि दबाब सिर्जना गर्न विभिन्न माध्यम प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ। स्रोत भन्छ, “काम नहुँदा मन्त्रीको सचिवालयदेखि लिएर विभिन्न मिडियामा नकारात्मक समाचार लेखाएर कर्मचारीलाई दबाब दिने प्रयास भइरहेको छ।”
हाल चर्चामा आएको ‘कुपन प्रकरण’ पनि यस्तै दबाबमूलक गतिविधिको एउटा उदाहरणका रूपमा हेरिएको छ। बिचौलियाहरूले प्रशासनिक निर्णय प्रभावित पार्न नसक्दा गलत सूचना फैलाउने र संस्था, मन्त्री र कर्मचारीको छवि धुमिल बनाउने उद्देश्यले यस्ता समाचार बाहिर ल्याउने काम गरिरहेका छन् ।
मन्त्रालयले भने यस्ता अपुष्ट र भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यम तथा सरोकारवालालाई अनुरोध गरेको छ। साथै, तथ्यमा आधारित सूचना मात्र सार्वजनिक गर्न आग्रह गर्दै मन्त्रालयले पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस