उद्देश्यबिनै ह्युमन लाइफ साइन्सलाई फार्मेसी सञ्चालन अनुमति, त्यसपछि १२ भारतीय औषधि कम्पनीको आयातकर्ता


काठमाडौं । कम्पनीको उद्देश्यमा औषधि पसल सञ्चालन वा औषधिको कारोबार गर्ने व्यवस्था नै नभएको अवस्थामा औषधि व्यवस्था विभागले ह्युमेन लाइफ साइन्स प्रालि (फार्मेसी युनिट) लाई सञ्चालन अनुमति दिएको पाइएको छ।

विभागीय स्वीकृतिपछि उक्त कम्पनीले भारतका १२ वटा औषधि उद्योगका उत्पादन नेपाल भित्र्याउने आयातकर्ताको मान्यता समेत प्राप्त गरेको कागजातले देखाएका छ ।

प्राप्त कागजातअनुसार कम्पनी सुरुवातमा ह्युमन हेल्थ वर्ल्ड प्रालि का नाममा दर्ता भएको थियो। पछि नाम परिवर्तन गरि ह्युमेन लाइफ साइन्स प्रालि राखिएको र त्यसैकाे आडमा ह्युमेन लाइफ साइन्स प्रालि (फार्मेसी युनिट) नामक औषधि पसल सञ्चालन अनुमति लिएको तर कम्पनीको उद्देश्यमा कहिँ पनि औषधि पसल सञ्चालन गर्ने आयात गर्ने विषय उल्लेख गरिएको छैन ।

कम्पनीको उद्देश्यमा औषधि पसल सञ्चालन वा औषधि कारोबारसम्बन्धी व्यवस्था उल्लेख नभए पनि औषधि व्यवस्था विभागले फार्मेसी युनिट सञ्चालनको अनुमति दिएको देखिन्छ।

त्यसपछि कम्पनीले भारतीय औषधि उत्पादक कम्पनीहरूको नेपालस्थित आयातकर्ताको रूपमा स्वीकृति प्राप्त गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अस्पताल अनुगमनमा हिँडिरहेको छ। यता औषधि व्यवस्था विभागले भने अवैध रुपमा धमाधम अनुमति दिने र विगतमा दिएका अनुमतिलाई निरन्तरता दिने काम गरिरहेको छ। यतापट्टि अनुगमनमा जानु पर्दैन भनेर पनि हामीले उठाइदिएका हौँ। पक्कै पनि मन्त्रालयको अनुगमन सुशासन कायम गराउनका लागि नै होला। देखावटी त होइन होला।

स्रोतका अनुसार ह्युमेन लाइफ साइन्स प्रालि (फार्मेसी युनिट) कम्पनीका सञ्चालक रामानन्द दास हुन्। कम्पनीले कम्पनी रजिष्ट्रार कार्यालयमा उद्देश्य संशोधन नगरी औषधिसम्बन्धी कारोबार अगाडि बढाएको दाबी सहितको उजुरी भने औषधि व्यवस्था विभागमा परिसकेको छ। अहिलेसम्म उक्त उजुरी उपर कुनै पनि प्रक्रिया अगाडि नबढेकाले विभागीय निर्णय प्रक्रिया र अनुमति प्रदान गर्ने आधारबारे प्रश्न उठेको हाे ।

अधिकारीहरुका अनुसार तत्कालीन महानिर्देशक नारायणप्रसाद ढकाल र किरणसुन्दर बज्राचार्यकाे मिलेमताेमा फार्मेसी युनिट सञ्चालनको अनुमति जारी भएको हाे । यद्यपि, अनुमति प्रदान गर्दा कानुनी प्रक्रिया पूर्ण रूपमा पालना गरिएको थियो वा थिएन भन्ने विषयमा हालसम्म विभागले स्पष्ट धारणा सार्वजनिक गरेको छैन।

यस विषयमा प्रतिक्रिया लिन स्वास्थ्य लाइभले विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीसँग लगातार सम्पर्क प्रयास गर्दा पनि सम्पर्कमा आउन चाहिनन्। चार दिन सम्स निरन्तर सम्पर्क गर्दा पनि उनले कुनै प्रतिक्रिया दिएनन्, बरु फोन गरेर डिस्टर्ब नगर्न आग्रह गरिन् ।

यता आराेपित विभागका अधिकारी किरणसुन्दर बज्राचार्यसँग समेत सम्पर्क गर्दा उनले यस विषयमा स्पष्ट प्रतिक्रिया दिन चाहेनन्।

परिवर्तन पछिनाे नाम

स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार कम्पनीको उद्देश्य, दर्ता विवरण र प्राप्त अनुमतिबीच असंगति देखिएमा त्यसबारे नियामक निकायले छानबिन गर्नुपर्ने हुन्छ। औषधि जस्तो संवेदनशील क्षेत्रमा अनुमति प्रक्रियाको पारदर्शिता र कानुनी वैधतामाथि प्रश्न उठेमा त्यसले नियामक प्रणालीको विश्वसनीयतामै असर पार्न सक्ने उनीहरूको भनाइ छ।


यस प्रकरणमा ह्युमन लाइफ साइन्स प्रालिले कसरी फार्मेसी सञ्चालन अनुमति प्राप्त गर्‍यो, कम्पनीको उद्देश्य संशोधन भएको थियो वा थिएन, र १२ भारतीय औषधि कम्पनीका उत्पादन आयात गर्ने स्वीकृति कुन आधारमा दिइयो भन्ने विषयमा औषधि व्यवस्था विभागले स्पष्ट जवाफ दिनुपर्छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पनि अनुमति प्रक्रियाको वैधता, विभागीय निर्णय र सम्बन्धित कागजातबारे छानबिन गरी तथ्य सार्वजनिक गर्नुपर्ने सरोकारवालाहरूको माग छ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार, सुशासन
ट्याग : ##DDA Nepal

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ