अवकाशको मुखमा परराष्ट्रका सहसचिवलाई राजदूत ‘बक्सिस’
काठमाडौं। चालू आर्थिक वर्षभित्रै अवकाशमा जान लागेका परराष्ट्र मन्त्रालयका दुई सहसचिवलाई राजदूत ‘बक्सिस’ दिन लागिएको छ। परराष्ट्र मन्त्रालयले सहसचिव भृगु ढुंगाना र गणेशप्रसाद ढकाललाई ‘करिअर डिप्लोम्याट’को नाममा अवकाशको मुखमा दोहोऱ्याएर राजदूत बनाउन प्रस्ताव गरेको हो। सहसचिव ढुंगाना परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी एसिया महाशाख प्रमुख र ढकाल युरोप महाशाखा प्रमुखको भूमिकामा छन्। उनीहरू एकदेखि साढे पाँच महिनाभित्रमा घर जाने सूचीमा देखिन्छन्।
परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना महिना दिनपछि ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जाँदैछन्। उनी भदौ २७ गते ५८ वर्ष लागेर घर जाने सूचीमा छन्। ढुंगानाले बकाइदा ४ वर्ष (एक कार्यकाल) क्यानडाका लागि नेपाली राजदूत भएर डलरमै करोडौं तलब भत्ता लगायतका अन्य सुविधा लिएर स्वदेश फर्किएका हुन्। परराष्ट्र मन्त्रालय टेकेर ३ वर्ष मात्र भएका ढुंगानालाई अवकाशको मुखमा राजदूत ‘बक्सिस’ दिन लागिएको हो।
परराष्ट्र मन्त्रालयले राजदूतमा प्रस्ताव गरेका गणेशप्रसाद ढकालको पनि अवस्था उस्तै छ। पूरा कार्यकाल थाइल्याण्डको राजदूत चलाएर फर्किएका ढकाल ५८ वर्ष पूरा भएर पुस ६ गते (साढे पाँच महिनापछि) घर जाने सूचीमा छन्। एउटा देशको राजदूत खाइसकेका ढकालमा घर जाने बेलामा राजदूत ‘बक्सिस’ दिन लागिएको हो।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ढुंगाना र ढकालसहित परराष्ट्र मन्त्रालयका सहसचिवहरूको दिलीपकुमार पौडेल, कुमारराज खरेल र विष्णुप्रसाद गौतमलाई राजदूतका लागि प्रस्ताव गरिएको छ। खरेल शिष्टाचार महापाल, गौतम अन्तर्राष्ट्रिय संगठन तथा अन्तर्राष्ट्रिय कानुन महाशाखा प्रमुख र पौडेल उत्तर तथा दक्षिण अमेरिका महाशाखा प्रमुख रहेका छन्। यिनीहरूमध्ये अवकाशको मुखमा रहेका ढुंगाना र ढकाललाई दोहोऱ्याएर राजदूत बनाउन प्रस्ताव गरिएको हो। उनीहरूलाई कुन देशका लागि राजदूत बनाउन खोजेको हो खुलेको छैन।
यसअघि अवकाशको मुखमा कालीप्रसाद पोखरेल, प्रकाश सुवेदीलगायतलाई अवकाशमो मुखमा दोहोऱ्याएर राजदूत नदिने भनेर घर पठाइएको थियो। अहिले परराष्ट्र मन्त्रालयले अवकाशको मुखमा दोहोऱ्याएर राजदूत दिने विकृत अभ्यास गर्न खोजेको छ। ‘करियर डिप्लोम्याट’का नाममा घर जान लागेका सहसचिवलाई राजदूत ‘बक्सिस’ दिन खोजिएको हो।
एउटा राजदूतले एक कार्यकालमा देश र अहिलेको विनिमयदर अनुसार ४ करोडमाथि कमाउने बताइन्छ। घर जान लागेका र उक्त रकम कमाइसकेका सहसचिवलाई फेरि अवकाशको मुखमा करोडौं कमाउन पठाउन खोजिएको छ। ढुंगाना र ढकालले पहिला राजदूत हुँदा जागिर खानेबाहेक मुलुकलाई लाभ हुने गरी केही काम गरेको भेटिदैन। फेरि उनीहरूलाई घर जाने बेलामा राजदूत बक्सिस दिने प्रयास भएको हो।
प्रशासनका महावाणिज्यदूतको ५८ पूरा भएपछि जागिर चैट
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार कानुनविपरीत स्थापना गरिएको ग्वान्जाओको महावाणिज्य दूतावासमा सरकारले प्रशासन सेवाका सहसचिव रवी भट्टराईलाई महावाणिज्यदूत बनाएर पठाएको थियो। उनको ५८ वर्ष उमेर हदको कारण देखाउँदै परराष्ट्रले दुई वर्ष नपुग्दै फिर्ता बोलायो। तर परराष्ट्रका कर्मचारीलाई ५८ वर्ष पूरा भएर घर जान लाग्दा त्यो पनि दोहोऱ्याएर राजदूत बनाउन प्रस्ताव गरिएको छ। परराष्ट्र मन्त्रालयका कर्मचारीको हकमा पनि उमेर हदलाई सरकारले ध्यान दिन जरूरी छ।
क्याटेगोरी : समाचारट्याग : #गणेशप्रसाद ढकाल, #भृगु ढुंगाना


तपाईको प्रतिक्रिया दिनुहोस