अवकाशको मुखमा रहेका ३ सहसचिव दिए राजीनामा


काठमाडौं। अवकाशको मुखमा रहेका ३ सहसचिवले राजीनामा दिएका छन्। राजीनामा दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा रहेका १ सहसचिव भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा रहेका दुई सहसचिव हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा रहेका सहसचिव लेखनाथ ज्ञवालीले राजीनामा दिएका छन्। उनले आफू बिदामा बसेको भनेपनि राजीनामा दिएको पुष्टि भएको छ। सहसचिव ज्ञवाली राजीनाको मनस्थितिमा मात्र होइन एक्सनमै उत्रिएको पाइएको हो। सहसचिव ज्ञवाली असोज २७ गते अनिवार्य अवकाशमा जाने सूचीमा थिए। उनले दुई महिना अगावै राजीनामा दिएका हुन्।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा रहेका सहसचिवद्वय विनोद लामिछाने र चन्द्रबहादुर शिवाकोटीले पनि राजीनामा दिएका छन्। लुम्बिनी प्रदेशबाट केही समय अघि सामान्य प्रशासन मन्त्रालयको जगेडामा तानिएका लामिछाने असोज १४ गते अनिवार्य अवकाशमा जाँदै थिए। अझै एक महिना बढी बरण्डामा हल्लिरहनुभन्दा राजीनामा दिएर सहसचिव लामिछानेले बाटो तताएका हुन्।

वैदेशिक रोजगार विभागको उपमहानिर्देशक रहेका सहसचिव चन्द्रबहादुर शिवाकोटी उक्त दरबन्दी कटौती भएपछि फाजिलमा परेका थिए। केही समय वैदेशिक रोजगार बोर्डको सचिवालय हेर्ने जिम्मेवारी पाएका शिवाकोटी फाजिलमा परेपछि सामान्य प्रशासन मन्त्रालयको जगेडामा तानिएका थिए। असोज २७ गतेसम्म दुई महिनाभन्दा कम जागिर अवधि रहेका शिवाकोटीले पनि राजीनामा दिएर मार्ग प्रशस्त गरेका हुन्। अवकाशमा रहेका सहसचिवत्रयले जगेडामा बस्नुभन्दा राजीनामा दिएर उत्तम विकल्प रोजेका छन्।

सामान्यको जगेडामा ४ सहसचिव 

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा ४ सहसचिव रहेका छन्। सहसचिवहरू शंकरहरि आचार्य, राजेन्द्र देव पाण्डे, रूद्रप्रसाद लामिछाने र कृष्णबहादुर शाही सामान्यको जगेडामा रहेका हुन्।

सामान्यको जगेडामा ६ सहसचिव (भलिबल-टिम) रहेकोमा विनोद लामिछाने र चन्द्रबहादुर शिवाकोटीले राजीनामा दिएर टिम छाडेका छन्। अब सहसचिवहरू शंकरहरि आचार्य, राजेन्द्र देव पाण्डे, रूद्रप्रसाद लामिछाने र कृष्णबहादुर शाही बाँकी रहेका हुन्। यिनीहरूमध्ये राजेन्द्र देव पाण्डे, रूद्रप्रसाद लामिछाने र कृष्णबहादुर शाही चालू आर्थिक वर्षभित्रै अवकाशमा जाने सूचीमा छन्।

 

क्याटेगोरी : समाचार
ट्याग : #चन्द्रबहादुर शिवाकोटी, #लेखनाथ ज्ञवाली, #विनोद लामिछाने

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ