रसुवासहित क्षतिग्रस्त सडक खुलाउन तत्काल बेलिब्रिज जडान गरिँदै


काठमाडौं । बाढीले सडक र पुलमा ठूलो क्षति पुर्‍याएपछि सरकारले यातायात सञ्चालनका लागि तत्काल बेलिब्रिज जडान गर्ने तयारी थालेको छ। भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा मात्रै करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने ४१ वटा पुल भत्किएका छन्।

पूर्वाधार विकास मन्त्रालयका अनुसार वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द अवस्थामा छ।

सरकारसँग ५० मिटरसम्म लम्बाइका सात वटा बेलिब्रिज उपलब्ध छन्। क्षतिग्रस्त सडकको अवस्था र आवश्यकता पहिचान गरी ती बेलिब्रिज तत्काल जडान गर्ने काम अघि बढाइएको मन्त्रालयले जनाएको छ। भारत र चीन सरकारबाट समेत आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको छ।

पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने सरकारको योजना छ। त्यसका लागि वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ। वेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न सक्ने अवस्था छैन।

बाढीका कारण पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ। लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यलाई पनि पहिलो प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।

सडक खुलाउने कार्यलाई तीव्रता दिन सरकारले उपलब्ध गराएका १० वटा र निजी क्षेत्रबाट उपलब्ध १० वटा गरी कुल २० वटा उपकरण परिचालन गरिएको छ।

मन्त्रालयका अनुसार क्षतिग्रस्त सडक तथा पुलको पुनःनिर्माण र यातायात सञ्चालनलाई प्राथमिकतामा राख्दै काम तीव्र रूपमा अघि बढाइएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ