प्रधानमन्त्री शाह सडकमार्ग हुँदै बाढी प्रभावित विदुरतर्फ


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह आज बिहान बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि सडकमार्ग हुँदै प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि सहभागी छन्। उनीहरू बिहान ९:३० बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रमध्ये एक विदुरतर्फ प्रस्थान गरेका हुन्।

हिजो रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रमा क्षति पुर्‍याएपछि प्रधानमन्त्री शाह उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय छन्। बाढीपछि उनले उच्चस्तरीय बैठक आह्वान गरी उद्धार तथा राहतका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका थिए।

समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा विदुर तथा आसपासका बाढी प्रभावित बस्तीको स्थलगत निरीक्षण गर्नेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री शाह र पूर्वाधार विकास मन्त्री लम्सालले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग राहत, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछन्।

प्रभावित क्षेत्रमा द्रुत गतिमा राहत पुर्‍याउन तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई तीव्रता दिन आवश्यक निर्देशन दिने कार्यक्रमसमेत रहेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ