राजकुमार अवकाशमा जाने भएसँगै गृहसचिवको जिम्मेवारी केदारनाथलाई, इन्दुको रक्षामा पदस्थापन
काठमाडौं। गृहसचिवको जिम्मेवारी केदारनाथ शर्माले पाएका छन्। हाल रक्षा सचिवको जिम्मेवारीमा रहेका शर्मालाई गृहसचिवमा सरूवा गरिएको हो। गृहसचिव राजकुमार श्रेष्ठ मंगलबारबाट अनिवार्य अवकाशमा जाँदैछन्। उनी सचिवको पाँच वर्षे कार्यकाल पूरा गरेर घर जान लागेका हुन्। श्रेष्ठ अवकाशमा जाने भएपछि उक्त ठाउँमा शर्मालाई लगाइएको हो।
सचिव शर्मा गृहका क्याडर हुन्। उनी काठमाडौंको सिडिओ भहसकेका कर्मचारी हुन्। अहिले बहालमा रहेका सचिवमध्ये गृहमा ल्याउन उपयुक्त पात्र उनै हुन्। तर, भूमिबाट गृहमा आएका सचिवको विगत हेर्दा त्यति उक्त मन्त्रालय फापेको पाइँदैन। सचिव शर्मा ‘सफ्ट-लाइन’का मानिन्छन्। उक्त गुणका कारण उनी सफल गृहसचिव बन्न पनि सक्छन्। उनको जागिर साढे ९ महिना बाँकी छ।
गृहसचिव बनेका शर्मा कोशी प्रदेशको प्रमुख सचिव, भूमि व्यवस्था मन्त्रालयको सचिव हुँदै रक्षामा पुगेका थिए। असार १ गते ५८ वर्ष पूरा भएर घर जाने सूचीमा रहेका शर्मा गृह प्रवेश गरेका हुन्।
यता रक्षा सचिवको जिम्मेवारी भने इन्दु घिमिरेलाई दिइएको छ। घिमिरेलाई सचिवमा बढुवा गरेर प्रदेशमा नपठाइ रक्षा मन्त्रालयमा पदस्थापन गरिएको हो। सचिव बढुवाको सिफारिसमा एक नम्बरमा रहेकी इन्दु सचिवमा बढुवा भएर रक्षा मन्त्रालयमा पदस्थापन भएकी हुन्। सचिव बढुवाका लागि इन्दु, श्रीकृष्ण नेपाल र नारायणप्रसाद भट्टको नाम सिफारिस भएको थियो। एक नम्बरमा सिफारिस इन्दु सचिवमा बढुवा भएसँगै नेपालको विशिष्ट श्रेणीमा उक्लिने सम्भावना लगभग समाप्त भएको छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस