प्राविधिक सचिवमा कर्माचार्य, प्रशासनको सचिवमा आभा
काठमाडौं। सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले इन्जिनियरिङ सेवा (प्राविधिक) सचिवमा जगदिश्वर कर्माचार्यलाई बढुवा गर्ने निर्णय गरेको हो। कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको छ।
कर्माचार्य प्राविधिक सहसचिवमा सबैभन्दा वरिष्ठ हुन्। समग्र निजामती सेवाको वरिष्ठ सहसचिव भने परराष्ट्रका कृष्णप्रसाद ढकाल हुन्।
सरकारले प्रशासन सेवाको सचिवमा आभा श्रेष्ठ कर्णलाई बढुवा गर्ने निर्णय गरेको छ। महिला कोटाबाट उपसचिव र मधेशी कोटाबाट सहसचिव भएकी आभा प्रशासनको सहसचिवमा वरिष्ठ हुन्। आभालाई गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको हो।
प्राविधिक सचिव बढुवाका लागि कर्माचार्य, नवीनराज सिंहसहित मिना श्रेष्ठको नाम सिफारिस भएको थियो। त्यस्तै प्रशासन सेवाको सचिवमा बढुवाका लागि आभासहित चक्रबहादुर बुढा र जयनारायण आचार्यको नाम सिफारिस भएको थियो। मन्त्रिपरिषद्को बैठकले दुबै तर्फ पहिलो नम्बरमा सिफारिस कर्माचार्य र आभालाई सचिव बनाएको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस