रामेछापको सिडिओ बज्राचार्य ३ महिनामै गृह मन्त्रालय तानिइन्, डोटीमा बल्ल सहसचिव सिडिओ पठाइयो
काठमाडौं। रामेछापको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बिनु बज्राचार्य कुँवर ३ महिनामै गृह मन्त्रालय वा अन्तगर्त तानिएकी छिन्। गत असार १० गते पाल्पाबाट रामेछापको सिडिओ भएर गएकी कुँवरले गृह मन्त्रालयले ३ महिनामै फिर्ता बोलाएको हो। रामेछाप भने अर्को सिडिओ पठाइएको छैन। १० महिना पाल्पाको सिडिओ चलाएर रामेछाप पुगेकी सहसचिव कुँवर ३ महिनामै तानिएकी हुन्।
गृह मन्त्रालयले डोटीमा भने बल्लबल्ल सहसचिव सिडिओ पठाएको छ। गोरखाबाट गृह मन्त्रालय आएका तुलसीबहादुर श्रेष्ठलाई डोटीको सिडिओमा पठाइएको हो। गत मंसिर १ गते डोटीको सिडिओमा हाजिर भएकी उपसचिव कल्पना घिमिरे नेपाल साढे १० महिनापछि गृह मन्त्रालय वा अन्तर्गत सरूवा भएकी छिन्। सहसचिवको दरबन्दीमा कल्पनाले झन्डै एक वर्ष सिडिओ चलाएर आएकी हुन्। कल्पनाभन्दा अगाडि उपसचिव मोहनराज जोशीले एक वर्ष बढी डोटीको सिडिओ चलाएका थिए। दुई वर्षपछि बल्ल डोटीले सहसचिव सिडिओ पाएको हो।
गृह मन्त्रालयले प्युठानको सिडिओ शान्तीराज प्रसाईंलाई सिराहाको सिडिओमा सरूवा गरेको छ। प्युठानमा ११ महिना बसेर प्रसाई सिराहा सरूवा भएका हुन्। प्युठानमा भने सिडिओ रिक्त भएको छ।
सहसचिवको दरबन्दी रहेको गुल्मीको सिडिओमा मोतिराम सापकोटालाई पठाइएको छ। वाणिज्य तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकबाट गृह छिरेका सापकाेटाले सिडिओको पहिलो पोष्टिङ गुल्मी पाएका हुन्। गुल्मीका सिडिओ बद्रीनाथ गैह्रेको पूर्वाधार विकास मन्त्रालयमा सरूवा भएपछि उक्त जिल्लामा सिडिओ रिक्त रहेको थियो। गृल्मीको रिक्त सिडिओमा शिक्षातिर ‘भिजेका’ सहसचिव सापकोटालाई खटाइएको हो।
राजीनामा दिएका कपिलवस्तुका सिडिओ जनार्दन गौतमलाई गृह मन्त्रालय सारिएको छ। उनलाई सार्नु र नसार्नुको कुनै अर्थ छैन। तर, गृहले कपिलवस्तु जस्तो संवेदनशील जिल्लामा अर्को सिडिओ खटाएको पाइँदैन।
गृह मन्त्रालयले कपिलवस्तुसहित रामेछाप र प्युठानमा सिडिओ खाली राखेकाे छ। गृहको जगेडामा अझै सहसचिवहरू एकदेव अधिकारी, सुरेन्द्र पौडेल र प्रदिपकुमार कोइराला रहेका छन्। उक्त ठाउँमा रामेछापकी सिडिओ कुँवर समेत थपिएकी छिन्। कोइरालाको जागिर ४ महिना मात्र बाँकी छ। सहसचिव अधिकारी र पौडेल गृहमै हल्लिरहेका छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस