अर्थ मन्त्रालयका दुई सहसचिवले दिए राजीनामा
काठमाडौं। अर्थ मन्त्रालयका दुई सहसचिवले राजीनामा दिएका छन्। अर्थ मन्त्रालय अन्तर्गत कार्यरत सहसचिव राजेन्द्रदेव पाण्डे र पदम श्रेष्ठले राजीनामा दिएका हुन्।
५८ वर्ष पूरा भएर चालू आर्थिक वर्षभित्रै अवकाशमा जान लागेका सहसचिव पाण्डे र श्रेष्ठले राजीनामा बुझाएको मन्त्रालय स्रोतले बतायो। अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख पाण्डे फागुन १० गते ५८ वर्ष पूरा भएर अनिवार्य अवकाश जाँदै थिए। त्यस्तै आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पदमकुमार श्रेष्ठ जेठ १४ गते अनिवार्य अवकाशमा जाँदै थिए। सहसचिवद्वयले मंगलबार राजीनामा दिएका हुन्।
नेपाल ट्रष्टको कार्यालयबाट भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा पुगेका पाण्डे गोपीकृष्ण कोइरालाले राजीनामा दिएपछि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा पुगेका थिए। उनले पनि छोटो समयमा राजीनामा दिएका हुन्। आन्तरिक राजस्व विभागमा कार्यरत सहसचिव श्रेष्ठले ८/९ महिना अगाडि नै राजीनामा दिएका छन्।
अर्थ मन्त्रालय अन्तर्गतको ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक केदारनाथ शर्माले यसअघि नै जागिरबाट राजीनामा दिएका थिए। अहिले पाण्डे र श्रेष्ठ थपिएका हुन्। सहसचिवद्वय चालू आर्थिक वर्षमै घर जाने सूचीमा छन्। ३०-५५ हल्लाका कारण उनीहरूले जागिर छाडेका हुन्।
ट्याग : #पदमकुमार श्रेष्ठ, #राजेन्द्रदेव पाण्डे


तपाईको प्रतिक्रिया दिनुहोस