राष्ट्रिय योजना आयोगमा दरबन्दीभन्दा बढी सहसचिव, प्रचण्डका दुबै पिए व्यवस्थापन


काठमाडौं। राष्ट्रिय योजना आयोगमा दरबन्दीभन्दा बढी सहसचिव रहेका छन्। ४ सहसचिवको दरबन्दी रहेको योजना आयोगमा ७ जना सहसचिव ‘डम्प’ गरिएको छ। आयोगमा सहसचिवहरू हरिशरण पुडासैनी, खोमराजा कोइराला, डा. नारायण रेग्मी, ध्रुव घिमिरे, नवराज ढुंगाना, अर्जुन भण्डारी र मिमांस अधिकारी रहेका छन्। यिनीहरूमध्ये भण्डारी प्रदेश नगएका सहसचिव हुन्।

राष्ट्रिय योजना आयोगमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिव (पिए)बसेका नवराज ढुंगाना र अर्जुन भण्डारीलाई व्यवस्थापन गरिएको छ। आयोग ‘प्रचण्ड’का ‘पिए’ व्यवस्थापन गर्ने थलो जस्तो बनेको हो। ढुंगाना सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय बसेपनि भण्डारी प्रदेश नगइ सिंहदरबारमै बसिरहेका छन्। अहिले पनि सहसचिव भण्डारीले सिंहदरबार छाड्नु परेको छैन। उनी दरबन्दी नभए पनि योजना आयोगमा व्यवस्थापन गरिएका सहसचिव हुन्।

योजना आयोगका सहसचिव हरिशरण पुडासैनी दसैँ बिदाबाटै अनिवार्य अवकाशमा जाँदैछन्। उनी कार्तिक ६ गतेबाट ५८ वर्ष पूरा भएर घर जान लागेका छन्। उनी बागमती प्रदेश बसेर आएका हुन्।

राष्ट्रिय योजना आयोगका ‘जरा गाडेर’ बसेका सहसचिव हुन् खोमराज कोइराला। उनी योजना आयोगका रैथाने कर्मचारी हुन्। २ महिना जति लुम्बिनी प्रदेश बसेर आएका कोइराला केही समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिताएर फेरि योजना आयोगमा फिर्ता भएका थिए। २०७३ साल बैशाखमा सहसचिव भएका कोइरालाले ८ वर्ष जति त योजना आयोगमै बिताएका छन्। उनी योजना आयोगका हर्ताकर्ता सहसचिव हुन्।

मन्त्रालयमा काम नगर्ने र शाखा अधिकृत र उपसचिवमा योजना आयोगमै पढेर बिताएका ध्रुव घिमिरे पनि अहिले भूमिबाट योजना आयोगमा पुगेका छन्। आयोगभन्दा बाहिर ‘फिट’ नभएपछि उनी पुरानो अड्डामा फर्किएका हुन्।

करिब डेढ वर्ष कोशी प्रदेश बसेर आएका मिमांस अधिकारी र अख्तियारको पोखरा कार्यालयबाट आएका नारायण रेग्मी पनि योजना आयोगमै ‘डम्प’ भएका छन्। दरबन्दीभन्दा बढी सहसचिव पठाइएको योजना आयोग सहसचिवका लागि ‘डम्पिङ साइट’ जस्तो बनेको हो। संवैधानिक आयोगबाहेक सबैभन्दा बढी सहसचिव योजना आयोगमा रहेका छन्। पछिल्लो समय सहसचिवहरू काम कम गर्ने र ‘गर्मी छल्न’ जाने ठाउँ योजना आयोग बनेको चर्चा चल्न थालेको छ। आनन्दले जागिर खान जाने भनेर सहसचिवको रोजाइमा योजना आयोग पर्न थालेको हो।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ