कार्यालय प्रमुखबाट कार्यालय प्रमुखमा सरूवा भएका लेखाका उपसचिव


काठमाडौं। महालेखा नियन्त्रक कार्यालयले एक दर्जन लेखाका उपसचिवलाई कार्यालय प्रमुखबाट कार्यायप प्रमुखमा सरूवा गरेको छ। महालेखा नियन्त्रक कार्यालयले ६१ जना लेखाका उपसचिव सरूवा तथा फाजिल व्यवस्थापन गर्दा १ दर्जनलाई कार्यालय प्रमुखबाट कार्यालय प्रमुखमा पठाएको हो। केही थान लेखा उपसचिवलाई अस्वभाविक महत्त्व दिएर कार्यालय प्रमुखबाट कार्यालय प्रमुखमा सरूवा गरेको पाइन्छ। त्यसरी महत्त्व पाउने लेखा उपसचिवमा मुनकुमार केसी, लावण्यराज दाहाल रहेका छन्। दुबै सधै अवसर पाउने साठ्ठीसाले लेखा अधिकृत हुन्।

केसीलाई आकर्षक मानिने कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) लैनचौरबाट कोलेनिका मकवानपुरमा पठाइएको छ। लैनचौरबाट मकवानपुरको सरूवा अस्वाभाविक देखिन्छ। त्यस्तै कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयका प्रमुख लावण्यराज दाहाललाई कोलेनिका मोरङ सरूवा गरिएको छ। निर्वाचन आयोग जान मरिहत्ते गरेर लागिपरेका दाहाललाई ‘अतिरिक्त भाउ’ दिएर कोलेनिका मोरङ पठाएको पाइन्छ। निर्वाचन आयोगबाटै दबाव दिएर जान खोजेका दाहालले आकर्षक कोलेनिका मोरङ पाएका हुन्। लोक सेवा आयोग र सर्वोच्च अदालतबाट फोन गराएर जान खोजेका दाहालले निर्वाचन आयोगमा पनि त्यहिँ शैली अपनाएका थिए। अन्ततः उनले कोलेनिका मोरङ पाएका हुन्।

लेखा उपसचिव दाहाल एकै वर्षमा ५ कार्यालय सरूवा हुनेमा पर्छन्। उनी अघिल्लो वर्ष वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, मेलम्ची खानेपानी आयोजना, राष्ट्रिय सतर्कता केन्द्र, भूमि व्यवस्था मन्त्रालय हुँदै कुमारीचोक पुगेका थिए। त्यहाँ एक वर्ष बसेर कोलेनिका मोरङ पुगेका हुन्।

त्यस्तै मिनबहादुर घर्ती मगर, इन्द्रप्रसाद पौडेल, सुरेश सुवेदी, दिनेश रेग्मी, कृष्णबहादुर धामी, युवराज आचार्य, तोमनाथ उप्रेती, इन्द्रप्रसाद पौडेल, रुद्र कोइराला, ज्ञानप्रसाद अर्याल र मोहन जैसवाल हुन्।

मिनबहादुर घर्ती कोलेनिका जुम्लाबाट कोलेनिका दाङको प्रमुख कोष नियन्त्रक भएर गएका छन्। कृष्णबहादुर धामी कोलेनिका कञ्चनपुरबाट कोलेनिका कैलाली र युवराज आचार्य कोलेनिका ललितपुरबाट कोलेनिका धादिङ, दिनेश रेग्मी कोलेनिका मकवानपुरबाट कोलेनिका बारा, इन्द्रप्रसाद पौडेल कोलेनिका गोरखाबाट कोलेनिका तनहुँ सरूवा भएका हुन्।

सुरेश सुवेदी प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय गण्डकी, कास्कीबाट कोलेनिका गोरखा, रुद्र कोइराला कोलेनिका काभ्रेपलाञ्चोकबाट कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय, काठमाडौं र तोमनाथ उप्रेती कोलेनिका मोरङबाट कोलेनिका उदयपुर सरूवा भएका छन्। ज्ञानप्रसाद अर्याल कोलेनिका पर्वतबाट कोलेनिका स्याङ्जा र मोहन जैसवाल कोलेनिका दाङबाट कोलेनिका बर्दिया सरूवा भएका हुन्। केसी र दाहालबाहेक कार्यालय प्रमुखबाट कार्यालय प्रमुखमा सरूवा भएका अरू लेखा उपसचिवको जिल्ला हेर्दा सरूवा सन्तुलित नै देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ