श्रमका सहजकर्ता एकनारायण अर्याल फरार
तत्कालीन मन्त्री कुँवर सिआईबीको हिरासतमा पुग्दा सचिव एकनारायण अर्याल लापत्ता
काठमाडौं। तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को हिरासतमा पुगेका छन्। सिआईबीका अनुसार उनलाई ठगी तथा संगठित अपराध कसूरमा पक्राउ गरिएको हो। सिआईबीले अपरेशन चलाएसँगै शक्तिशालीहरूको भागाभाग भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार प्रतिवादी कैलाश खड्कासमेत भएको ठगी तथा संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान अघि बढ्दा मन्त्री कुँवर पक्राउ परेका हुन्। उक्त प्रकरणमा तत्कालीन अर्का श्रममन्त्री रामेश्वर राय, तत्कालीन सचिव विनोद केसी, तत्कालीन सहसचिवद्वय राजिव पोखरेल र उमेश ढुंगाना तथा मन्त्रालयकी तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरुङ समेत पक्राउ परेकी छिन्।
तत्कालीन मन्त्री कुँवर पक्राउ पर्दा उनको कार्यकालमा श्रम मन्त्रालयको सचिव रहेका एकनारायण अर्याल भने फरार भएका छन्। ठगी तथा संगठित अपराध कसूरमा पक्राउ परेका तत्कालीन मन्त्री कुँवर सिआईबीको हिरासतमा पुग्दा उनका सचिव एकनारायण अर्याल लापत्ता भएका हुन्। अर्याल सचिव हुँदाका रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजिव पोखरेल समेत सिआईबीको हिरासतमा पुगेका छन्। एक्ला एकनारायण भने सिआईबीको हिरासत छलेर लापत्ता भएका हुन्।
एकनारायण तत्कालीन श्रममन्त्री कृष्णकुमार श्रेष्ठको पालामा श्रम मन्त्रालयमा सचिव भएर पुगेका थिए। एकनारायण तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट २०७८ मंसिरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा सरूवा भएर गएका थिए। एकनारायणले २०८० जेठ अन्तिमसम्म डेढ वर्ष बढी श्रम सचिवको भूमिकामा काम गरे। केपी शर्मा ओली प्रधानमन्त्री र कृष्णकुमार श्रेष्ठ (किसान) मन्त्री भएको समयमा श्रममा छिरेका एकनारायण शेरबहादुर कुँवरको पुरै कार्यालय र शरदसिंह भण्डारीको केही कार्यकाल श्रम सचिवको भूमिकामा काम गरे। शरदसिंहले केवलप्रसाद भण्डारी श्रम सचिव बनाएपछि एकनारायण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा भएर गएका थिए। उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गएपनि आफ्ना विश्वासपात्र सहसचिव पोखरेललाई श्रममै टिकाउन सफल भए। पोखरेललाई श्रममै राख्न एकनारायण विशेष भूमिका खेलेका थिए। कैलाश खड्काले सेटिङ नमिलेपछि तत्कालीन श्रम सचिव सूर्यप्रसाद गौतमको सरूवा गराएर एकनारायण ल्याएका थिए। त्यसपछि आफ्नो उदेश्य पूरा गरेका कैलाश सिआईबीको हिरासतमा पुग्दा उनका संरक्षक एकनारायण फरार भएका हुन्।
श्रमका सहजकर्ता एकनारायण
एकनारायण श्रम सचिव हुँदा मात्र होइन त्यसपछि पनि श्रमका सहजकर्ता बनिरहेको चर्चा हुने गरेको छ। कैलाशले एकनारायणको एकनारायणले कैलाशको व्यवस्थापन गर्ने गरेको आरोप लाग्दै आएको छ। एकनारायणलाई गृहसचिव र मुख्यसचिव बनाउन कैलाशको मुख्य भूमिका रहेको जानकारहरू बताउँछन्।
एकनारायण मुख्यसचिव बनेपछि कृष्णहरि पुष्कर कर्णलाई श्रम सचिवमा पठाएर प्रधानमन्त्री कार्यालयबाटै उनले श्रम मन्त्रालय चलाएका थिए। वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षण शुल्क बृद्धिमा पनि कैलाशको डिजाइनमा एकनारायण र कृष्णहरिले भूमिका खेलेको आरोप लाग्यो। उक्त प्रकरणमा कृष्णहरि विवादमा परेपछि उपराष्ट्रपति कार्यालय सरूवा भए। एकनारायण मुख्यसचिवबाट अवकाश पाएर घर गए। श्रमका बिचौलिया कैलाश सिआईबीको हिरासतमा पुग्दा सहजकर्ता एकनारायण ‘सिन’मा देखिँदैनन्। तत्कालीन मन्त्री कुँवर प्रहरी हिरासतमा पुग्दा ‘अख्तियार प्रमुख पक्का हो’ भन्दै हिँडेका कुँवरका सचिव एकनारायण एकाएक लापत्ता भएका हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस