कता भागे ‘कुलिङ ग्याङ’का नाइके एकनारायण अर्याल?


काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पूर्व मुख्यसचिव एकनारायण अर्यालविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउको अनुमति लिइसकेको छ। श्रमिक ठगी तथा संगठित अपराधमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएका तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव अर्याल सिआईबीको खोजी सूचीमा छन्। तर, उनले देश छाडेर भागिसकेको प्रहरी अधिकारीहरू बताउँछन्। प्रहरीको खोजी सूचीमा रहेका अर्याल भारततिर पलायन भएको स्रोत बताउँछ। उनी भारत हुँदै मलेसिया जान सक्ने सम्भावना उत्तिकै रहेको अधिकारीहरू आशंका गर्छन्।

सिआईबीले पक्राउ गर्न सक्ने सम्भावना देखेरै अर्यालले रातारात देश छाडेका छन्। मलेसियामा कामदार पठाउने मुख्य व्यक्ति कैलाश खड्का अदृश्य साझेदार अर्याल उनी पक्राउ परेसँगै सतर्क बनिसकेका थिए। गौडा-गौडामा आफ्नो मान्छे व्यवस्थापन गरेका अर्याल पक्राउ पूर्जी जारी हुनुभन्दा अगाडि नै देश छाडेर भागेको पाइन्छ। उनलाई खोज्न प्रहरी परिचालन गरिएको छ।

एकनारायण २०७८ मंसिर १५ गतेदेखि २०८० जेठ २९ गतेसम्म डेढ वर्ष बढी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव रहेका थिए। कृष्णकुमार श्रेष्ठ (किसान) मन्त्री हुँदा कैलाश खड्काको सेटिङमा सचिव अर्याल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट श्रम मन्त्रालयमा सरुवा भएका थिए। श्रममा जादा सचिव अर्यालले अहिले सिआईबीको हिरासतमा पुगेका सहसचिव राजिव पोखरेललाई पनि महत्त्वपूर्ण महाशाखा दिएर लगेका थिए। यातायात व्यवस्था विभागका महानिर्देशक रहेका पोखरेल सिआईबी हिरासतमा रहँदा अर्याल फरार भएका हुन्।

शेरबहादुर कुँवर श्रममन्त्री हुँदा उक्त मन्त्रालय पुरै सचिव एकनारायणले नै चलाएको मन्त्रालयका तत्कालीन अधिकारीहरू बताउँछन्। कुँवर मन्त्री हुँदा पुरै कार्यकाल श्रममा रहेका अर्याल मन्त्रीले पक्राउ खाएपछि लापत्ता भएका छन्। कृष्णहरि पुष्कर कर्णले समेत श्रम सचिव हुँदा ‘एकनारायण दाइ’लाई सोधेर काम गर्ने गरेका थिए। कैलाश खड्का कै साथमा गृहसचिव हुँदै मुख्यसचिव बनेका एकनारायण उनलाई साथ दिन छाडेर रातारात फरार भएका छन्। कर्मचारीमा आफ्नो समूह बनाउने गरेका एकनारायण आफ्नो समूहका सदस्य राजिव पोखरेललाई साथ दिन छाडेर सुइँकुच्चा ठोकेका हुन्। उनी मुख्यसचिवबाट अवकाश भएपछि पनि श्रीमतीसहित केही समय भारतमै बसेका थिए। अहिले पनि उत्तै गएको आशंका गरिएको छ।

‘कुलिङ ग्याङ’का नाइकेको ट्याग

संघीय निजामती सेवा विधेयकबाट कुलिङ पिरियड हटाउन सचिवहरूलाई लिएर देउसीभैलो खेलेपछि मुख्यसचिवको भूमिका रहेका एकनारायलाई कर्मचारीहरूले ‘कुलिङ ग्याङ’का नाइकेको ट्याग लगाउने गरेका छन्। उनैका कारण संघीय निजामती सेवा ऐन ‘खोल्सो’मा परेको भन्दै कर्मचारीहरूले व्यापक असन्तुष्टि जनाउँदै आएका छन्। कर्मचारी संकटमा पार्न भूमिका खेलेको आरोप खेपेका अर्याल अहिले आफैं संकटमा परेका हुन्। गृहसचिव भइसकेका अर्याल प्रहरी देखेर भाग्नु पर्ने अवस्था आएको हो।

एकनारायण मुख्यसचिव बनेपछि श्रीमती मायादेवी अर्याललाई निजामती कर्मचारी श्रीमती संघको अध्यक्ष घोषणा गरेर सिंहदरबारभित्रै कार्यकक्ष उपलब्ध गराएका थिए। संग्रहालय अधिकृत रहेकी श्रीमतीलाई श्रीमती संघको अध्यक्ष बनाएपछि कर्मचारी वृत्तमा तरंग समेत आएको थियो। तर, एकनारायण कर्मचारी नै रहेकी श्रीमतीलाई संघको अध्यक्ष बनाएका थिए। उक्त संघमा करोडौं अनुदान दिएर उच्च पदस्थका परिवार विदेश घुमेको चर्चा छ। जेन-जी आन्दोलनका कारण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत निजामती कर्मचारी श्रीमती संघलाई गएको १०/१२ करोड अनुदान पुरै खर्च नभएको स्रोतको दाबी छ। उक्त रकम समेत तत्काल अडिट गरेर खर्चको एकिन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तदारुकता देखाउनु पर्ने सरकारी अधिकारीहरूको सुझाव छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ