नगरपालिकामा हप्ता दिन नबसेका प्रमुख प्रशासकीय अधिकृतहरू काठमाडौं छिर्ने लबिइङमा
काठमाडौं। नगरपालिकाका हप्ता दिन पनि नबसेका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू काठमाडौंमा सरूवा गराउन तीव्र लबिइङमा रहेका छन्। त्यस्ता कर्मचारीहरू अहिले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धाइरहेका छन्। त्यतिले पनि नपुगेर विभिन्न च्यानल प्रयोग गरेर उनीहरू सिंहदरबार वा काठमाडौं उपत्यकामा सरूवा मागिरहेको स्रोतले बतायो।
काठमाडौंमा सरूवा माग्नेमा उपत्यका बाहिरका नगरपालिकामा सरूवा भएका उपसचिवहरू रहेको बताइन्छ। यसरी काठमाडौंमा सरूवा माग्नेमा सरूवा भएको ३/४ महिनापछि हाजिर हुन जाने। हाजिर भएर वेबसाइटमा फोटो समेत फेर्न नभ्याइ काठमाडौं फिर्ता आएका, यो अवधिमा अन्य ठाउँमा घुम्न हिँडिरहेका, यसअघि पनि काठमाडौं उपत्यका नछाडेका र सरूवा उल्ट्याएका बढी रहेको अधिकारीहरू बताउँछन्।
विदेशमा ३/४ महिना घुम्न मिल्ने तर पारिवारिक समस्या देखाएर काठमाडौं छाड्न नमिल्ने उपसचिव पनि काठमाडौंमा सरूवा मागिरहेको चर्चा छ। स्थानीय तहमा काम गर्न सकिएर भन्ने तर उपत्यका स्थानीय तहमा सरूवा माग्ने उपसचिव पनि भेटिएका छन्।
उपत्यका बाहिरका स्थानीय तहमा सरूवा भएर काठमाडौं आउन खोज्ने कर्मचारीको हाजिर अवधि हेरेर मात्र सरूवा गर्न मन्त्रालय ध्यान दिनुपर्छ। कम्तिमा कार्यालयमा गएर कम्तिमा ६ महिना स्थानीय तहमा काम गरेर बसेका कर्मचारीलाई मात्र औचित्यका आधारमा सरूवा गर्न उचित हुन्छ। सरूवा भएको ठाउँमा जाँदै नजाने, गएपनि हाजिर गरेर टाप ठोक्ने कर्मचारीलाई सरूवा गरिदिदा बेथिति निम्तिन्छ। यस्तो प्रवृत्ति भएका कर्मचारीलाई निरूत्साहित गर्न पनि मन्त्रालय विशेष ध्यान दिन जरुरी देखिन्छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस