लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको आह्वान


काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न सबै पक्षलाई आह्वान गरेका छन्।लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको प्रारम्भका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन तथा समतामूलक समाज निर्माणको प्रमुख चुनौती भएको उल्लेख गरेका हुन्।

उनले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हिंसाबाट बढी प्रभावित भइरहेको उल्लेख गर्दै बदलिँदो परिवेशमा डिजिटल माध्यमबाट हुने हिंसासमेत थप चुनौतीका रूपमा देखिएको बताए। संविधानको मर्मअनुरूप समानता, सामाजिक न्याय र समावेशितालाई व्यवहारमा रूपान्तरण गर्न सबै प्रकारका हिंसाको रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच र दोषीलाई कानुनी कारबाही सुनिश्चित गर्नुपर्नेमा उनको जोड छ।

प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी तथा संस्थागत व्यवस्था सुदृढीकरण, महिलाको सशक्तीकरण, बालिका शिक्षाको प्रवर्द्धन तथा पीडितको संरक्षण र पुनःस्थापनालाई सरकारले प्राथमिकता दिएको उल्लेख गरेका छन्। यी प्रयासलाई प्रभावकारी बनाउन कानुनको कार्यान्वयन, सामाजिक चेतना, संस्थागत जवाफदेहिता तथा तीनै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ।

यसै वर्ष भदौ महिनामा भोटेकोशी क्षेत्रमा गएको बाढीले पुर्‍याएको क्षतिको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपद्का समयमा लैङ्गिक हिंसाको जोखिम बढ्न सक्नेतर्फ विशेष सचेत रहनसमेत आग्रह गरे। अभियानलाई सफल बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम, राजनीतिक दल, अभियन्ता र आम नागरिकको सक्रिय सहभागिता तथा ऐक्यबद्धताका लागि अनले आह्वान गरेका हुन्।

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन हुने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यस वर्ष पनि आजदेखि सुरु भएको हो। संयुक्त राष्ट्रसङ्घले यस वर्ष ‘Unite to End Violence Against Women and Girls: Ensure Justice, Protect Survivors, End Impunity’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ अभियान सञ्चालन गर्न आह्वान गरेको छ। नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारासहित अभियान सञ्चालन हुँदैछ।

प्रधानमन्त्री शाहले अभियानअन्तर्गत सञ्चालन हुने विविध कार्यक्रमले लैङ्गिक हिंसामुक्त, न्यायपूर्ण र समतामूलक समाज निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै अभियानको सफलताको कामना गरेका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ