विनोद चौधरीले भारतीय खोप ल्याउलान् ?


काठमाडौं। नेपाली कांग्रेसका सांसदसमेत रहेका उद्योगपति विनोद चौधरी प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएर भारत गएको पाइएको छ । बालुवाटार स्रोतका अनुसार चौधरीले भारतबाट आउनु पर्ने कोभिसिल्ड खोप र नयाँ सरकारसँग भारतको सम्बन्धका विषयमा चौधरीले भारतीय पक्षसँग कुरा गर्ने भनेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग भेटेर उनले नेपाललाई दिनुपर्ने खोप तत्काल् उपलब्ध गराउन आग्रह गर्ने बुझिएको छ । अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले भारतसँग किन्न खोजेको २० लाख डोज कोभिसिल्ड खोपमध्ये आधा खोप उनी निकट व्यापारी शुरज वैद्य र विजय दुगडले कमिसनमा बार्गेनिङ गर्दा अड्किएको थियो । सरकारले पैसा तिरिसकेको त्यो १० लाख डोप र सम्भव भएसम्म थप खोप उपलब्ध गराउन मोदीसँग चौधरीले कुरा गर्ने बालुवाटार स्रोतको दाबी छ ।
भारतीय प्रधानमन्त्री मोदीसँग निकट सम्बन्ध रहेका चौधरी देउवासँगै कुरा गरेर भारत जानुलाई राजनीतिक/ कूटनीतिक वृत्तमा अर्थपूर्ण ढंगले हेरिएको छ । भारतको ‘गूड लिस्ट’मा नपरेका भनिएका देउवालाई जसरी पनि भारतसँग सम्बन्ध सुधार गर्नुछ । त्यहिँ भएर चौधरीलाई देउवाले नै भारत पठाएको हुन सक्ने बालुवाटार स्रोतको अनुमान छ ।
कांग्रेस महामन्त्री शशांक कोइरालासँग घनिष्ठ सम्बन्ध रहेका चौधरीले पार्टीभित्र देउवा र शशांकलाई मिलाउने काम गरिरहेको चर्चा चल्ने गरेको छ । कांग्रेस महाधिवेशन नजिक आइरहेको बेला समिकरण फेरबदल गराउन पनि चौधरीको भूमिका खोजिएको छ । अहिले देउवाले खोप कूटनीतिका लागि चौधरीलाई अघि सारेको हुन सक्ने बालुवाटार स्रोतको बुझाई छ ।
भारतबाट खोप ल्याउन सफल भए भने चौधरीलाई देउवाले परराष्ट्रमन्त्री कै जिम्मेवारी दिने हल्लासमेत चलाउन थालिएको छ ।  तर जे भएपनि खोप कूटनीतिले चौधरीको मोदीसँग सम्बन्धनको असली परीक्षण हुने निश्चित छ । खोपमा चौधरीको सफलता / असफला छुटिने देखिन्छ । यसले देउवासँगको भावी सम्बन्धसमेत प्रस्ट हुनेछ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com