स्वास्थ्यमा १२ औं तहको कासमू सचिव अर्यालद्वारा ‘किर्ते’


काठमाडौं । तत्कालीन् स्वास्थ्य सचिव लक्ष्मण अर्यालले मिलेमतोमा स्वाथ्यको १२ औं तह ( प्रमुख विशेषज्ञ) को कार्यसम्पादन मूल्यांकन (कासमू ) तलमाथि गरेको खुल्न आएको छ ।

सचिव अर्यालको निर्देशनमा स्वास्थ्य सेवाको सचिव बनाउँन १२ औं तहको कासमू पठाउने बेलामा प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलको भन्दा प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंहको कासमू नम्बर बढी हालेर ‘किर्ते’ गरेको पाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वास्थ्य लाइभलाई प्राप्त प्रमाण अनुसार पहिलोपटक पठाएको कासमूमा सचिव अर्यालले ढड्डामा रहेको वास्तविक नम्बर भन्दा सिंहलाई ५ नम्बर बढी दिएर पोखरेल भन्दा अगाडि पुऱ्याउने भूमिका खेलेको खुल्न आएको छ ।

प्राप्त विवरणमा वास्तविक कासमूमा डा. पोखरेलको कासमू नम्बर ८९.८ र डा. सिंहको कासमू नम्बर ८५ मात्र छ । तर सचिव अर्यालले सामान्यमा पठाएको सुरूको कागजातमा ५ नम्बर बढी थपगरी वास्तविक भन्दा फरक विवरण बनाएर पठाएको तथ्य फेला परेको हो।

मुलुकी अपराध (संहिता ), ऐन, २०७४ को दफा २७६ (२ ) मा कसैलाई कुनै हानि, नोक्सानी वा क्षति पुर्याउने वा आफू वा कसैलाई कुनै लाभ पुर्याउने नियतले कुनै झुठ्ठा लिखत वा झुठ्ठा विद्युतीय अभिलेख वा लिखत वा विद्युतीय अभिलेखको झुठ्ठा अंश वा भाग बनाउने काम गरेमा निजले कीर्ते गरेको मानिने उल्लेख छ ।

लिखतमा जनिएको अङ्क, अक्षर फरकगरी विवरण पठाउने कार्यलाई किर्ते गरेको ठहरिने अधिवक्ता जयबहादुर भुजेलको भनाई छ । ‘विना अधिकार वा वेइमानीपूर्वक कुनै लिखत वा विद्युतीय अभिलेखमा कुनै कुरा थपी, मेटी, केरी, परिवर्तन गरी वा अन्य कुनै किसिमबाट व्यहोरा फरक वा नबुझिने पार्ने कार्य किर्ते हो’, उनले भने । राज्यले यस विषयमा विस्तृत छानविन गरेर मुद्दा चलाउनु पर्ने अधिवक्ता भुजेलले बताए।

सरकारी वा सार्वजनिक लिखत किर्ते गर्नेलाई ७ वर्षसम्म कैद, ७० हजार रुपैयाँ जरिवाना र अन्य कुरा किर्ते गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।

स्वास्थ्य लाइभलाई प्राप्त कासमूमा डा. रोशन पोखरेलको ८९.८, डा. दीपेन्द्ररमण सिंहको ८५ महेन्द्र श्रेष्ठको ८२, डा. भीमसिंह तिंकरीको ८३, डा. गुणराज लोहनीको ८० र डा. संगिता मिश्रको ६८ नम्बर रहेको देखिन्छ । यता सिनियर सह सचिव डा कृष्ण पौडेलको कासमू भने भरेको छैन । उनको कासमू खाली छ । तर, तत्कालीन् स्वास्थ्य सचिव लक्ष्मण अर्यालले व्यहोरा फरक पारेर अर्कै कासमू पठाएर किर्ते गरेको पाइएको छ ।

सुरूवा स्वास्थ्यको प्राविधिक सचिवको दरबन्दी नै गायब बनाउन सफल भएका अर्याल प्राविधिक सचिव थपिने निश्चित भएपछि कासमूमा चलखेल गर्न लागेको पाइएको हो । सचिव अर्यालले डा. सिंहको ५ नम्बर बढी थप गरेर डा. पोखरेलको भन्दा बढी बनाउने कार्य गरेकाले उनलाई किर्ते कसूरमा छानबिनगरी मुद्दा चलाउनु पर्ने सामान्य प्रशासन कार्यालयका अधिकारीहरूको तर्क छ ।

कासमूमा गडबड भएको कुरा बाहिर आएपछि भने सचिव अर्यालले किर्तेबाट जोगिन चलखेल गरेको सामान्यका अधिकारीहरू बताउँछन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com