स्वास्थ्यमा लक्ष्मण अर्याल छायाँ सचिव


काठमाडौं । स्वास्थ्य सचिवमा डा. रोशन पोखरेलले जिम्मेवारी लिएपनि मन्त्रालयमा निवर्तमान सचिव लक्ष्मण अर्यालको प्रभाव अझै कायम रहेको तथ्य खुलेको छ । स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा भएका सचिव अर्याल हाजिर भएलगत्तै विदा स्वीकृत गराई श्रीमती भेट्न सुटुक्क नयाँदिल्ली पुगेका छन् ।

कृष्णहरि पुष्करलाई फिर्ता बोलाएर तत्कालीन् प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष रूचीमा सरकारले सचिव अर्यालकी श्रीमती नीता पोखरेललाई भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासको इकोनोमिक मिनिस्टर बनाएर पठाएको थियो ।

भारतबाट खरिद गर्न लागिएको कोभिसिल्ड खोपमा तत्कालीन् प्रधानमन्त्री ओली सचिवालयका केही व्यक्ति, स्वास्थ्य सचिव अर्याल, इकोनोमिक मिनिस्टर पोखरेल, कमिसन एजेन्टहरू शुरज वैद्य, विजय दुगडलगायतको मिलेमतोमा कमिसनमा चलखेल गरेपछि खोप आउन रोकिएको थियो । तत्कालीन् स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीले खोप ल्याउन नदिनेलाई भूतप्रेतको संज्ञा दिएका थिए ।

मन्त्री त्रिपाठीको भारतीय संस्थापनसँग विशेष सम्बन्धन रहेका कारण सरकार त्यो बेला भारतबाट खोप ल्याउन सफल भएको थियो । कमिसन एजेन्टसँग मिलेमतो गरेर खोप खरिद प्रक्रिया अबरुद्ध गर्ने र खोप आउन नदिने भारतमा रहेका सचिव अर्यालले उल्टै मिडियामार्फत आफैंले खोप ल्याएर सफला हासिल गरेको प्रचार गराएको पाइएको छ । तत्कालीन् स्वास्थ्यमन्त्री भानुभक्त ढकालले खोप ल्याउन नसकेपछि उनलाई हटाएर त्रिपाठीलाई ल्याएपछि मात्र खोप आएको थियो । ढकाल हुँदा पनि अर्याल सचिवको भूमिकामा थिए । तर त्यो यथार्थ ढाँटेर आफ्नो सफलतामा जोडेर प्रचार गराएका हुन् ।

एमालेको सरकार नभएकाले गृहसचिव आफू नबनेको र केबल भण्डारी गृह सचिव बन्छ भन्दै हिड्ने गरेका सचिव अर्याल अर्थ सचिव बनेरै छाड्ने बताउने गरेका छन् । भारतबाट पनि उनले भण्डारीलाई गृहसचिव बनाउन शक्ति केन्द्रमार्फत तीब्र लबिइङ गरेको स्रोतको भनाई छ । तर सरकारले टेकनारायण पाण्डेलाई गृहसचिव बनाएको छ ।
अहिले पनि श्रीमतीको जागिर थमौती गर्न भारतीय शक्तिकेन्द्रमार्फत सचिव अर्यालले चलखेल थालेका छन् । भारतमा बसेर पनि सचिव अर्यालले नेपालमा प्रभाव जमाइरहेका छन् भन्ने कुरा स्वास्थ्य मन्त्रालयले हालै निकालेको विज्ञप्तिले पनि पुष्टी गर्छ । अहिले स्वास्थ्य सचिव डा. रोशन पोखरेल भएपनि अर्यालको नेक्सस स्वास्थ्यमा कायमै रहेको पाइएको छ ।

स्वास्थ्यमा १२ औं तहको कासमू सचिव अर्यालद्वारा ‘किर्ते’ गरेको विषयमा स्वास्थ्य लाइभले प्रकाशित गरेको समाचारमा स्वास्थ्य मन्त्रालयले खण्डन गरेको विज्ञप्ति हेर्दा स्वास्थ्यमा अर्यालले छायाँ सचिवको रूपमा काम गरिरहेको देखिन्छ ।
तत्कालीन् स्वास्थ्य सचिव अर्यालको निर्देशनमा स्वास्थ्य सेवाको सचिव बनाउँदा १२ औं तहको कासमू पठाउने बेलामा प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलको भन्दा डा. दीपेन्द्ररमण सिंहको कासमू नम्बर बढी हालेर ‘किर्ते’ गरेको कुरा स्वास्थ्य लाइभले खुलासा गरेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेको बढुवा समितिमा पठाउँदा सिंहको नम्बर बढी रहेको तथ्य फेला परेपछि मन्त्रालयमा हल्लीखल्ली भएको थियो । तर, ओली नेतृत्वको सरकार ढलेसँगै बदमासी खुल्ने भएपछि स्वास्थ्यले हतारहतार फिर्ता मगाएर बढुवा समितिमा नयाँ कासमू पठाएको थियो ।

सचिव अर्यालको डिजाइनमा स्वास्थ्यले पहिलो पटक पठाएको कासमूमा वास्तविक नम्बर भन्दा सिंहलाई बढी दिएर पोखरेल भन्दा अगाडि पुऱ्याउने काम गरेको थियो । प्राप्त विवरण अनुसार वास्तविक कासमूमा डा. पोखरेलको कासमू नम्बर ८९.८ र डा. सिंहको कासमू नम्बर ८५ मात्र छ । तर स्वास्थ्यले पहिलोपटक पठाएको कासमू पोखरेलको भन्दा सिंहको बढी थियो ।
मुलुकी अपराध (संहिता ), ऐन, २०७४ को दफा २७६ मा लिखतमा जनिएको अङ्क, अक्षर फरकगरी विवरण पठाउने कार्यलाई किर्ते गरेको ठहरिने उल्लेख छ ।
कानुन अनुसार लिखत वा विद्युतीय अभिलेखमा कुनै कुरा थपी, मेटी, केरी, परिवर्तन गरी वा अन्य कुनै किसिमबाट व्यहोरा फरक वा नबुझिने पार्ने कार्य किर्ते हो । यो छानबिन गर्न सम्बन्धित निकायलाई लेखी पठाउनु पर्नेमा सचिव अर्याललको नेक्ससले विज्ञप्ति निकालेर ढाकछोप र बचाउको प्रयास गरेको छ ।
स्वास्थ्य लाइभलाई प्राप्त कासमूमा डा. रोशन पोखरेलको ८९.८, डा. दीपेन्द्ररमण सिंहको ८५ महेन्द्र श्रेष्ठको ८२, डा. भीमसिंह तिंकरीको ८३, डा. गुणराज लोहनीको ८० र डा. संगिता मिश्रको ६८ नम्बर रहेको देखिन्छ । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति स्वास्थ्य लाइभले प्रकाशित गरेको यो कासमू नम्बरको विषयमा मौन छ  । भ्रमपूर्ण र आधारहीन समाचार नछाप्न विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउने स्वास्थ्य मन्त्रालयले स्वास्थ्य लाइभले प्रकाशित गरेको कासमू नम्बर होइन भन्न सकेको छैन । यसले प्रशासनमा काम गर्ने कर्मचारी अर्यालकै इशारामा चल्ने पुष्टी भएको छ । त्यस्ता कर्मचारीलाई तत्काल् सरुवा नगरे स्वास्थ्य मन्त्रालयको अझ बद्नामी हुने पक्का छ । यसमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको ध्यानाकर्षण हुन जरूरी छ ।

सुरूमा सरूवा स्वास्थ्यको प्राविधिक सचिवको दरबन्दी नै गायब बनाउन सफल भएका अर्याल प्राविधिक सचिव थपिने निश्चित भएपछि कासमूमा चलखेल गरेको कुरा बाहिर आएको हो । कासमूमा गडबड भएको कुरा बाहिर आएपछि भने सचिव अर्यालले किर्तेबाट जोगिन चलखेल गरेको सामान्यका अधिकारीहरू बताउँछन् । त्यसैको निरन्तरता स्वास्थ्यको पछिल्लो विज्ञप्ति भएको सामन्यका अधिकारीहरुको टिप्पणी छ ।

यता संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले कोभिडविरुद्धको खोप खरीदमा अनियमितता गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ । कोरोनाविरुद्धको खोप खरीदमा अनियमितता भए/नभएको अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएकाले त्यो विषयमा जोडिएकी इकोनोमिक मिनिस्टर पोखरेललाई फिर्ता बोलाएर छानबिन गर्न आवश्यक देखिन्छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ##laxman aryal, ##MOHP, ##roshan pokharel, ##umesh shrestha

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com