स्वास्थ्य मन्त्रालयको अनुमति बिना नै ग्लोवल फण्ड हेर्ने ‘चिफ अफ पार्टी’मा विदेशी नियुक्त गरेको खुलासा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमति बिना नै सेभ द चिल्ड्रेनले ग्लोवल फण्ड हेर्नेगरी ‘चिफ अफ पार्टी’ मा विदेशी नागरिक नियुक्त गरेको खुलासा भएको छ । विदेशीलाई चिफ अफ पार्टी नियुक्त गरेको विषयमा एक दिन अगाडि स्वास्थ्य लाइभको जिज्ञासामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीहरूले विदेशीलाई सेभ द चिल्ड्रेनले चिफ अफ पार्टी नियुक्ति गरेकोबारे कुनै जानकारी नभएको बताए थिए । तर, सेभ द चिल्ड्रेनले ग्लोवल फण्ड हेर्नेगरी चिफ अफ पार्टी विदेशीलाई नियुक्त गरेकोमा ध्यानाकर्षण गराउँदै स्वास्थ्य मन्त्रालयले नै महिला, बालबालिका तथा जेठ नागिरक मन्त्रालयमा पठाएको गोप्य पत्र स्वास्थ्य लाइभले फेला पारेको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयले पठाएको पत्रमा ग्लोवल फण्डको ‘चिफ अफ पार्टी’ मा विदेशी नागरिक नियुक्ति गरेको विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

स्वास्थ्य मन्त्रालयको उक्त गोप्य पत्रमा उल्लेख भएअनुसार ग्लोवल फण्डका लागि सन् २०२१–२०२४ सम्मको एचआईभी, मलेरिया र टिबीविरूद्धको (जिएएफटिएम) परियोजना प्रस्ताव गर्दा एक्सपर्टको विषयमा कुनै छलफल भएको थिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको अध्यक्षतामा रहेको कन्ट्री कोर्डिनेटिङ मेकानिजम (सिसिएम)बाट ग्लोवल फण्डसमक्ष पेश भएको प्रस्तावमासमेत कुनै पनि एक्सपर्टको परिकल्पना नगरिएको पत्रमा उल्लेख छ ।

’ग्लोवल फण्ड नेपालमा सञ्चालन भएदेखि हालसम्म पनि नेपाली नागरिकले नै सफलतापूर्वक व्यवस्थापनका लागि नेतृत्वदायी भूमिका खेलेका छन् ।’ स्वास्थ्य मन्त्रालयले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ । नेपाली नै सक्षम भएकाले व्यवस्थापन कार्यका लागि बाहिरको एक्सपर्ट आवश्यक नभएको स्वास्थ्य मन्त्रालयले महिला बालबालिका मन्त्रालयलाई पत्र लेख्दै प्रस्ट पारेको पत्र महिला, बालबालिका मन्त्रालयबाट स्वास्थ्य लाइभलाई प्राप्त भएको छ । स्वास्थ्य लाइभले स्वास्थ्य मन्त्रालय र विभाग कब्जागरी बसेका एनजीओ÷आइएनजीओ माथी निगरानी सुरु गरेको छ ।

स्वास्थ्य मन्त्रालयमाथि हस्तक्षेप गर्दै आएका आईएनजीओले सरकारसँगको सम्झौताविपरीत गैरकानुनी रुपमा सेभ द चिल्ड्रेनबाट ग्लोवल फण्ड हेर्ने जिम्मेवारी पाएका ‘चिफ अफ पार्टी’को नियुक्ति गरेको खुल्न आएको हो । दुई मन्त्रालयबीच भएको पत्रचारले चिफ अफ पार्टीमा विदेशी नियुक्ति गरेको स्पष्ट भएको छ । यसलाई औपचारिकता दिन सेभ द चिल्ड्रेनले सोमबार मात्र चिफ अफ पार्टीको भ्याकेन्सी खुलाएको आरोप लाग्न थालेको छ ।

स्वास्थ्य लाइभले सोमबार सेभ द चिल्ड्रेनमा ‘चिफ अफ पार्टी’को गैरकानुनी धन्दा ! शीर्षकमा समाचार प्रकाशित गरेको केही घण्टापछि सेभ द चिल्ड्रेनले चिफ अफ पार्टीको भ्याकेन्सी खुलाएपछि यो आशंकामाथि थप बल पुगेको छ ।

नेपालमा ग्लोवल फण्डको सम्पूर्ण कार्यक्रम हेर्न जिम्मा चिफ अफ पार्टीको हो । त्यो नेपालमा रहेर सेभ द चिल्ड्रेनको तर्फबाट ग्लोवल फण्डको प्रोजेक्ट हेर्ने सबैभन्दा माथिल्लो पद हो । सन् २०१९ को डिसेम्बर सम्म सेभ द चिल्ड्रेनबाट ग्लोवल फण्ड हेर्ने चिफ फ पार्टीका रूपमा तारा क्षेत्री कार्यरत थिईन् । उनका ठाउँमा अहिले भारतीय ल्याइएको छ । तर, चिफ अफ पार्टीको रुपमा ल्याइएका भारतीय नागरिक कुनाल किशोरे अयोग्य भएपछि औपचारिक घोषणा गरिएको छैन । म्यानमारमा सिनियर चिफ अफ पार्टी भएर गएकी क्षेत्री भने त्यहाँ काम गर्ने नेपालमा आएर डेपुटी चिफ अफ पार्टीको भूमिकामा काम गरिरहेको सेभ द चिल्ड्रेन उच्च स्रोतले बताए ।

सेभमा ल्याइएका भारतीय नागरिक कुनाल किशोरे

स्वास्थ्य मन्त्रालयको पत्रमा उल्लेख गरिएअनुसार गत ०७७ फागुन २० गतेका दिन सेभ द चिल्ड्रेन अन्तर्गत ग्लोवल फण्ड परियोजनाका लागि ‘चिफ अफ पार्टी’ पदमा विदेशी नागरिकलाई नियुक्ति गरिएको पुष्टि भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई रोक्न तत्काल निर्देशन दिएको छ । तर, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले टेरेको छैन ।

स्वास्थ्य मन्त्रालय मान्यता नदिएकाले श्रम विभागबाट स्वीकृति नलिई भारतीय नागरिक कुनाल किशोरेले चिफ अफ पार्टीको हैसियतमा लुकेर काम गरिरहेको सेभ द चिल्ड्रेनका केही अधिकारीहरुले बनाउछन् । सेभ द चिल्ड्रेनसँग आवद्ध कर्मचारीहरुले नै भारतीय नागरिकलाई ल्याएर लुकीलुकी गैरकानुनी काम गर्न लगाएको बताउँछन् ।

स्वास्थ्य मन्त्रालयले महिला बालबालिका मन्त्रालयमार्फत सेभ द चिल्ड्रेनलाई ध्यानकर्षण गराउँदै नेपाली नागरिकलाई नै एक्सपर्ट (चिफ अफ पार्टी) मा नियुक्त गर्न पत्रचार गरेको छ । प्राप्त कागजातमा कन्ट्री कोर्डिनेटिङ मेकानिजम (सिसिएम)ले २०२४ जुलाईपछि उक्त परियोजनाको मुख्य प्रयोगकर्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नै हुनेगरी मन्त्रालय र यस सम्वद्ध अन्य निकायहरूको क्षमता अभिवृद्धि गर्न छुट्टै बजेट व्यवस्थापन गर्न र प्राविधिक सहयोग उपलब्ध गराउन सेभ द चिल्ड्रेनलाई निर्देशन दिएको छ । तर, सेभ द चिल्ड्रेनले २०२४ जुलाईपछि पनि आफैँले ग्लोवल फण्डको बजेट कब्जा गर्ने उद्देश्यले सिसिएमको निर्देशन बमोजिम मन्त्रालयलाई सहयोग गरेको छैन ।

स्वास्थ्य मन्त्रालयले लामो समयदेखि ग्लोवल फण्डले टिबी, मलेरिया र एचआईभी एड्मा कार्यक्रममा सहयोग गर्दै आएकोमा उक्त कार्यक्रमको निष्पक्ष संस्थामार्फत प्रभाव मूल्यांकन आवश्यक रहेको रायसमेत पेश गरेको छ ।

त्यस्तै सेभ द चिल्ड्रेनले सिसिएममा प्रस्तुत गरेको र परियोजना प्रस्ताव दस्तावेजमा उल्लेख गरिएको व्यवस्थापकीय खर्च (एडमिन कस्ट) भिन्नता रहेको र व्यवस्थापकीय खर्च अत्याधिक प्रस्ताव गरिएको स्वास्थ्यले औँल्याएको छ । तर, सेभ त चिल्ड्रेनले सरकारलाई टेरेको छैन । ग्लोवल फण्डको पैसमा निष्पक्ष अडिट नहुँदा सेभ द चिल्ड्रेनको हिसाब पारदर्शितामाथि प्रश्न उठेको छ । यसमा स्वास्थ्यले समेत चासो देखाउनु सकारात्मक भएको महिला मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

५ लाख तलव खाने नेपाली हटाएर ३० लाख खाने विदेशीलाई गैरकानुनी रुपमा ल्याइएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार मासिक ३० लाख तलब भत्ता खानेगरी अहिले भारतीयलाई चिफ आफ पार्टीको जिम्मेवारी दिईएको छ । नेपालीले मासिक ५ लाख भन्दा कममा काम गरिरहेका थिए ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार
ट्याग : ##Global Found, ##India, ##MOHP, ##save The Children

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com