युएई जाने कामदारको पिसिआर परीक्षणमा सेटिङ, ह्याम्स, स्टार र विध ल्याबलाई मात्र लाभ पुग्ने निर्णय


काठमाडौं । सरकारले वैदेशिक रोजगारीको शिलशिलामा युएई जाने कामदारको पिसिआर परीक्षणमा सेटिङ गरेको छ । ऱ्यापीड पिसिआर गर्नका लागि एक लाख भन्दा बढी कोभिडको पिसिआर गरेको प्रयोगशाला हुनुपर्ने सर्त राखेर सेटिङ गरेको हो । ऱ्यापीड पिसिआर परीक्षणमा निश्चित ल्याब तोकेर सिन्डिकेट खडा गर्न खोजेको आरोप स्वास्थ्य मन्त्रालयलाई लागेको छ । यो सर्तले ह्याम्स, स्टार र विध ल्याबलाई मात्र लाभ पुग्छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले युएई जाने यात्रुहरूको लागि प्रस्थान गर्नु भन्दा ४ घण्टा अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालसँग समन्वय गरी विमानस्थलभित्र ऱ्यापीड पिसिआर गर्नुपर्ने भएकाले पिसिआर परीक्षणक लागि तोकेको मूल्यमा सो परीक्षण तुरून्त गर्न सक्ने प्रयोगशालाले भोलि ४ बजेसम्म निवेदन दिन सक्नेगरी सूचना निकालेको छ । सूचनामा हालसम्म एक लाख भन्दा बढी कोभिडको पिसिआर गरेको हुनुपर्ने सर्त राखेर सेटिङ गरेको छ । यस अगाडी पनि स्टार र ह्याम्सलाई मात्रै हुने गरी पिसिआर परिक्षणको निर्णय गरेको थियो । चौतर्फि विवाद भएपछि फिर्ता लिएको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. आरपी बिच्छाले भने निर्णय फिर्ता लिएको बताएका छन् । तर, निर्णय सार्वजनिक भएको देखिएको छैन ।

स्वास्थ्य सेवा विभागको  महानिर्देशकस्तरीय निर्णयअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रूणा झाले कोभिड १९ पोजेटिभ बिरामीको उपचारका गर्ने पूर्वाधार भएको र पहिला पनि नेपाल सरकारसँग सहकार्यगरी कोभिडको बिरामीको उपचार गरेकोले मात्र युएई जाने कामदारको पिसिआर परीक्षणमा सहभागी हुन पाउने ‘क्राइटएरिया’ तोकेकी छन् । त्यस्तै पिसिआर परीक्षणमा प्रयोग हुने उपकरण र रिएजेन्ट गुणस्तरीय हुनुपर्ने अर्को सर्त रहेको छ । तर यी सर्त राख्दा निश्चित ल्याबबीच मिलेमतोमा प्रयोगशालाले सूचना निकालेको आरोप लागेको हो । यसमा ठूलो आर्थिक चलखेलसमेत भइरहेको स्रोतले बतायो ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ