कोरोना संक्रमण युवामा बढी


काठमाडौं । कोरोना भाइरस कोभिड १९ संक्रमणबाट युवा पुस्ता बढी प्रभावित भएको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक अनुसार २१ देखि ४० वर्ष उमेरमा संक्रमण बढी देखिएको छ ।

शनिवार देशभर १३ हजार ५ सय ७५ जनाको नमुना परिक्षण हुदा २ हजार ६ सय २४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारीले बताए । यस बिचमा २० जनाको मृत्यु भएको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा भएको संक्रमित मध्ये आधा भन्दा बढी युवा छन् । उनिहरु २१ देखि ४० वर्षका हुन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार २१ देखि ४० वर्षका ९ सय २८ जना संक्रमित छन् । त्यस्तै ४१ देखि ६० वर्षका ५ सय ५० जना छन् । यता ११ देखि २० वर्षका १५८ जना, ६१ देखि ७० वर्षका १४२ जना र ७१ देखि माथिका ८८ जना संक्रमित भएका छन् । १० वर्ष मुनिका ६१ जना शनिवार संक्रमित पुष्टि भएका छन् ।

शुक्रबार ३ हजार ९ सय १५ जना संक्रमित पुष्टि हुदा युवा बढी थिए । २१ देखि ४० वर्षका १३ सय १७ जना थिए । यता ४१ देखि ६० वर्षका ७८४ जना थिए । ६१ देखि माथिका ३ सय ७१ जना छन् । ११ देखि २० वर्षका २ सय १८ जना र १० वर्ष मुनिका ७३ जना संक्रमित भएका थिए ।

अधिकारीहरुले युवा वर्ग काममा निस्कने भएकाले बढी संक्रमित भएको बताएका छन् । त्यस्तै युवामा खोप पर्याप्त नहुदा पनि संक्रमण अरुमा भन्दा बढी देखिएको हो । सह प्रवक्ता अधिकारीका अनुसार हाल सम्म ३७ लाख ४९ हजार ४८४ जनाको आर्टी पिसिआर परिक्षण गरिएको छ । उक्त परिक्षणबाट ७ लाख ३० हजार ४७९ जनामा कोरोना पुष्टि भएको छ । उनिहरु मध्ये ६ लाख ८० हजार ८१५ जना निको भइसकेका छन् । १ हजार २५९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट भएको मृत्युको दर १ दशमलब ५ प्रतिशत छ ।

तथ्यांक अनुसार हाल सम्म ४६ लाख ७४ हजार ३१८ जनाले कोरोनाको पहिलो मात्रा खोप लगाएका छन् । त्यस्तै, ३३ लाख ३ हजार ५ सय ७८ जनाले पूर्ण खोप पाएका छन् । अझै देशमा करिब २० लाखको संख्यामा खोप मौज्दात रहेको छ । नियमीत रुपमा खोप आउने भएकाले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप लगाउने विषयमा कुनै कन्जुस्याई नगर्न निर्देशन दिएका छन् ।

राज्यन्त्री श्रेष्ठले खोप भण्डारण केन्द्रमा रहेका खोप लक्षितवर्गलाई चाँडो लगाउन निर्देशन दिए । टेकू र त्रिभुवन विमानस्थलस्थित खोप भण्डारण केन्द्रको निरीक्षण गर्ने क्रममा राज्यमन्त्री श्रेष्ठले खोप लगाउने कार्यमा तीव्रता दिन जोड दिएका हुन् । विद्यार्थी, शारीरिक रूपमा अशक्त भएका र जेष्ठ नागरिकलाई प्राथिकतामा राखेर खोप दिनुपर्ने उनको भनाई छ । ‘खोप भण्डारणको अवस्था, भण्डारण क्षमता विस्तार तथा आपूर्तिको प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक कार्य तदारुकताका साथ अघि बढाइनेछ’, राज्यमन्त्री श्रेष्ठले भने ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com