महाशाखा–केन्द्र जताततै कानुनविपरीत प्रमुख नियुक्त: समूह मिल्ने फाजिलमा, नमिल्ने नीति निर्माणमा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा ७ वटा महाशाखा छन् । त्यसैगरी ५ वटा केन्द्रहरु छन् । तर, ती निकायमध्ये अधिकाशंमा कानुनविपरीत प्रमुख बनाइएको छ । स्वास्थ्य मन्त्रालयको तीन-तीन महाशाखामध्ये , योजना तथा अनुगमन महाशाखामा समूह नमिल्नेलाई जिम्मेवारी दिएको छ । अन्तर्राष्ट्रिय समन्वय महाशाखा पनि हालै मात्र समूह मिल्नेलाई दिइएको छ । यस अगाडि सधै समूह नमिल्नेलाई दिँदैआएको थियो । तीन दिन अघि मात्रै सो ठाउँमा समूह र दरबन्दी मिल्ने रिता जोशीलाई ल्याइएको छ । उता गुणस्तर तथा नियमन महाशाखामा भने समूह मिल्नेलाई नै जिम्मेवारी दिएको छ ।

स्वास्थ्य सेवा विभाग भित्रका चार महाशाखामध्ये सबै सेवा समूह नमिलेकालाई जिम्मेवारी दिइएको छ । ५ केन्द्र मध्ये तीनवटा केन्द्रको प्रमुखको समूह मिलेको छैन । स्वास्थ्य मन्त्रालयका अधिकारीहरु भन्छन्, ‘समूह मिल्नेलाई फाजिलमा राखेर नमिल्नेलाई नीति निर्माणको जिम्मा दिनु स्वास्थ्य क्षेत्रका लागि राम्रो सन्देश हैन । यसले स्वास्थ्यमा भद्रगोल अवस्था सिर्जना भएको छ ।’,

सरकारबिरुद्ध समायोजनको विषयलाई लिएर मुद्दा हालेका कर्मचारीले अहिले मालदार महाशाखा पाएका छन् । हाल राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रकी निर्देशक राधिका थपलियाको दरबन्दी कर्णालीको सुर्खेत तालिम केन्द्रमा हो । प्रदेशकाे तालिम केन्द्र खरेज भएपछि थपलिया बस्ने ठाउँ नभएपछि अदालत गएर स्टे अडर लिएर संघमा बसेकी हुन् । थपलिया हेल्थ एजुकेसन समूहकी हुन् । त्यस्तै हाल मन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय महाशाखाको जिम्मेवारी पाएकी रिता जोशी भण्डारीको दरबन्दी सामाजिक विकास मन्त्रालय हेटौंडा हो । तर, दुबैजना दरबन्दीमा गएका छैनन् ।

मन्त्रिपरिषद्ले कर्मचारी समायोजन गर्दा थपलियालाई सुर्खेत र रिता जोशी भण्डारीलाई हेटौंडामा समायोजन गरेको थियो । अन्य सबै कर्मचारी जाँदा उनिहरुले मुद्दा हाली स्टे-अडर लिएका छन् । अहिले दुवैले मालदार ठाउँको जिम्मेवारी पाएका छन् । तर, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रमा दरबन्दी भएका सुनिल शर्मा र औषधि व्यवस्था विभागमा दरबन्दी भएका नारायण ढकाल लामो समयदेखि जिम्मेवार बिहीन छन् । ढकाललाई मिल्ने दरबन्दी मन्त्रालयमा थियो तर उनकै जोडबलमा मन्त्रालयबाट औषधितर्फको ११ औं तहको दरबन्दी कटौती गरिएपछि ढकालले जिम्मेवारी नपाएका हुन् ।

नेपाल स्वास्थ्य सेवामा २९ वटा समूह र ४० वटा उपसमूह छन् । जुन विशेषज्ञतामा बढुवा भएको छ उसले सोहीअनुसार काम गर्न पाउँनु पर्छ । तर, नेपालमा त्यसको ठिक उल्टो भएको छ । समूहगत पदस्थापन नभएको खण्डमा सुशासन कायम गर्न कठिन हुन्छ । सही मान्छे सही ठाउँमा गएर काम गरेको खण्डमा मात्रै स्वास्थ्यको सुधार गर्न सकिन्छ तत्कालीन् कर्मचारी समायोजन समितिका संयोजक मोहम्मद दाउद भन्छन् । कर्मचारी समायोजनका बेला कतिपयले आफूअनुकूल दरबन्दी बनाउन चलखेल गर्दा अहिले समस्या आएको देखिन्छ ।

कर्मचारी समायोजन ऐन २०७५ ले जुन तहमा कर्मचारी समायोजन भएका छन् त्यहाँ भन्दा माथि उनीहरु आउन नमिल्ने व्यवस्था गरेको छ । दाउद भन्छन्, ‘संविधान र कानुन भनेको देशको सर्वोपपरी हो । कानुनले व्यवस्था भएबमोजिम सरकारले समूहगत दरबन्दीको सिर्जना गरेको हुन्छ । सोहीअनुसार कर्मचारीको जिम्मेवारी बाँडफाड हुनुपर्छ ।’, स्वास्थ्य मन्त्रालयले कामको गति लिन नसक्नु पनि मुख्य रुपमा योग्यताअनुसार जिम्मेवारी नदिनु भएको अधिकारीहरु बताउँछन् ।

यस्तो भद्रगोल छ अवस्था ?

स्वास्थ्य मन्त्रालय र विभाग मातहतका महाशाखा र केन्द्रहरुमा प्राय जसोको दरबन्दी मिलेको छैन । सबै कानुनविपरीत काजमा जिम्मेवारी लिएर बसेका छन् । स्वास्थ्य मन्त्रालयका तीन महाशाखा सबै आकर्षक छन् । तीनवटा महाशाखामध्ये दुईवटामा पछिल्लो समय समूह मिलाइएको छ । यस अगाडी महाशाखामा दरबन्दीअनुसारको कर्मचारी भन्दा पनि कानुनविपरीत आफ्ना विश्वास पात्रको जिम्मा लगाइएको थियो ।

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखामा डा. गुणराज लोहनी छन् । (पहेए) पब्लिक हेल्थ एड्मिनिस्ट्रेसनको दरबन्दीमा (जहेस) जनरल हेल्थ सर्भिसेस समूहको कर्मचारी राखिएको छ । उनको दरबन्दी कोशी अञ्चल अस्पताल विराटनगर हो । तर, प्रचण्ड निकट मानिने लोहनी राजनीतिक आडमा कानुनले नमिल्ने स्थानमा बसेका छन् ।

गुणस्तर तथा नियमन महाशाखाको जिम्मेवारी डा. मदन उपाध्यायलाई दिइएको छ । त्यहाँ हाल समूह मिलेको छ । उनको समूह (जहेस) जनरल हेल्थ सर्भिसेस हो । त्यस्तै अन्तर्राष्ट्रिय समन्वय महाशाखाको जिम्मेवारीमा यस अगाडि डा. जागेश्वर गौतम थिए । उनी प्रसूति रोग विशेषज्ञ हुन् । उनको दरबन्दी परोपकार तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)मा हो । तीन महिनासम्म महाशाखा खाली राखेर दुई दिन अघि मात्रै रिता जोशी भण्डारीलाई ल्याएको छ । जोशी हेल्थ इन्सपेक्सन समूहकी हुन् । सो दरबन्दी पनि हेल्थ इन्सपेक्सन समूहको हो ।

बालरोग विशेषज्ञ डा. कृष्ण पौडेल हाल स्वास्थ्य मन्त्रालयको प्रवक्ता छन् । उनी कान्तिबाल अस्पतालबाट इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा आएका हुन् ।  रोग नियन्त्रण महाशाखा उनकाे समूूह मिल्दैन ।

परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलको दरबन्दी इलाम हो । उनको समूह (जहेस) जनरल हेल्थ सर्भिसेस हो । तर, (पहेए) पब्लिक हेल्थ एड्मिनिस्ट्रेसनको दरबन्दीमा बसेका छन । हेल्थ इन्पेक्सनको दरबन्दी भएको व्यवस्थापन महाशाखामा (पहेए) पब्लिक हेल्थ एड्मिनिस्ट्रेसनको दरबन्दी भएका डा भिमसिंह तिंकरी छन् । सो महाशाखामा बिजय कुमार झाको दरबन्दी हो । तर, उनलाई प्रदेश दुई को सामाजिक विकास मन्त्रालयमा पठाइएको छ ।

व्यवस्थापन महाशाखा, राष्ट्रिय तालिम केन्द्र र स्वास्थ्य समन्वय महाशाखा हेइ (हेल्थ इन्सपेक्सन) को दरबन्दी हो । उक्त ठाउमा केशव पण्डित, विजय कुमार झा वा रिता भण्डारी जोशी मात्रै राख्न मिल्छ । लामो समय ती स्थानमा दरबन्दीअनुसारको कर्मचारी मन्त्रालयले खटाएन । तीनवटै कमाउने अड्डा भएकाले सचिव र मन्त्रीले नियमविपरीत आफूअनुकूल कर्मचारी राखेका छन् । हाल स्वास्थ्य सचिव डा. रोशन पोखरेलले तालिम केन्द्र र समन्वय महाशाखामा दरबन्दीअनुसारको कर्मचारी खटाएका छन् ।

राष्ट्रिय तालिम केन्द्रमा रहेका यहुचन्द्र घिमिरेलाई हेटौंडा पठाएर उनको ठाउँमा दरबन्दी मिल्ने केशव पण्डितलाई पठाएका छन् । त्यस्तै ११ महिनादेखि फाजिलमा रहेकी रिता भण्डारी जोशीलाई तीन महिनादेखि खाली रहेको स्वास्थ्य समन्वय महाशाखाको जिम्मेवारी दिएका हुन् । उनको दरबन्दी हेटौंडा भएपनि सो शाखामा पनि उनको दरबन्दी मिल्छ ।

यता राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाको समूह जनरल हेल्थ सर्भिसेस हो । अस्पतालमा दरबन्दी भएकी देवकोटालाई पहुँचको आधारमा समूह नमिल्ने राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकको जिम्मेवारी दिएको छ ।

त्यस्तै पब्लिक हेल्थ एड्मिनिस्ट्रेसन समूहको दरबन्दी भएका डा. विवेक कुमार लाललाई सार्क टिभी सेन्टरमा लगेर थन्क्याइएको छ । उनको दरबन्दी इपिडिमियोलोजी तथा रोग नियनत्रण महाशाखा हो । हाल राज्यमन्त्रीको सल्लाहकारमा आएका महेश्वर श्रेष्ठको दरबन्दी बुटवलको तालिम केन्द्रमा हो । तर, गृहमन्त्री बालकृष्ण खाँणको ठाडो आदेशमा उनलाई नियमविपरीत काठमाडौं तानिएको छ । त्यती मात्रै हैन श्रेष्ठलाई व्यवस्थापन महाशाखाको चाबी सुम्पन दबाब पर्न थालेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

यता राष्ट्रिय सूचना तथा सञ्चार केन्द्रको प्रमुखको दरबन्दी हेल्थ एजुकेसन समूहको हो । संघमा हेल्थ एजुकेसन समूहको दरबन्दी एकवटा मात्रै छ र दरबन्दी अनुसारको जनशक्ति पनि एक जना सुनिलराज शर्मा मात्रै छन् ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com