वीरमा रोकिएको मिर्गौला प्रत्यारोपण सेवा सुरु


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा ०७६ चैत चार गतेबाट रोकिएको मिर्गौला प्रत्यारोपण सेवा सुचारु भएको छ । कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पताल (वीर) का प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्र बस्नेतले विगतमा रोकिएको प्रत्यारोपण सेवा सुरु भएको बताए । सेवा सुरु भएसँगै गरिब तथा विपन्न विरामीले सहज रुपमा प्रत्यारोपण सेवा लिन पाउने भएका छन् । यस अगाडी शहिद धर्मभक्ता राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण सेवा सुचारु थियो ।

डा बस्नेताका अनुसार चलिरहेको सेवा कोरोनाले रोकिएको थियो । वीर अस्पतालको नयाँ सर्जिकल भवन बनेपछि कोभिड सम्बन्धी सबै सेवा सर्जिकल भवनमा सरेको छ । पुरानो भवनमा नन कोभिडको सेवा सुरु भएसँगै मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको बस्नेताले बताए ।

वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण पछि बिरामीलाई भर्ना गर्ने ट्रान्सप्लान्ट वार्डमा कोरोना संक्रमितको उपचार सेवा सुरु गरिएको थियो । त्यहाँ डायलाइसिस गर्नुपर्ने कोरोना संक्रमितलाई सेवा दिन थालियो । त्यसपछि मिर्गौला प्रत्यारोपण सेवा बन्द भएको हो ।

डा बस्नेतका अनुसार बिरामीको चापलाई मध्यनजर गर्दै सातामा दुईजना सम्म बिरामीको मिर्गौला प्रत्यारोपण गर्ने तयारी भएको छ । यसका लागि मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकको टोलीमा डा पारसमणि श्रेष्ठ, डा अनिल श्रेष्ठ, डा रविन बस्नेत, डा पुकार चन्द्र श्रेष्ठ, डा रजनी हाडा, डा अनिल बराल लगायतका चिकित्सकहरु छन् । वीर बाट प्रत्यारोपण सुरु भएपनि हाल सम्म करिब १ सयको मात्रै गरिएको छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com