गृहमन्त्रीको स्वास्थ्यमा शृंखलाबद्ध आक्रमण, कानुनविपरीत प्रदेशको कर्मचारी संघमा समायोजन गर्न दवाव


काठमाडौं  । गत साउन २९ गते लुम्बिनी प्रदेशमा कार्यारत स्वास्थ्य शिक्षा समूहका महेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरि ल्याईएको छ । ११ तह ( सह सचिव) का श्रेष्ठ कांग्रेस निकट जनस्वास्थ्य संघका निर्वाचित केन्द्रिय महासचिव पनि हुन् । कानुनले प्रदेशमा समायेजन भएको कर्मचारी संघमा आउन मिल्दैन । तर, गृहमन्त्री बालकृष्ण खाँणको दबावमा उनलाई संघमा ल्याइएको हो । श्रेष्ठ र खाँण बिजनेश पार्टनरसमेत हुन् । उनीहरुको विभिन्न नर्सिङ कलेजमा समेत लगानी छ ।
गत भदौं ४ गते स्वास्थ्य मन्त्रालयले एक वर्षदेखि फाजिलमा रहेकी रिता जोशी भण्डारीलाई दिएको छ । गत साउन १८ गते जोशीलाई स्वास्थ्य मन्त्रालयले सार्क क्षयरोग केन्द्रमा सरुवा गरेको थियो । तर, उनी सार्क क्षयरोग केन्द्रमा गइनन् । अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको महत्वपूर्ण महाशाखामा उनको सरुवा भएको छ । उनको सहरुवा पनि गृहमन्त्रीको दबावमा मन्त्रालयको अन्तराष्ट्रिय समन्वय महाशाखामा भएको हाे ।
अन्तराष्ट्रिय समन्वय महाशाखामा क्षमताहीन कर्मचारीलाई ल्याएको भन्दै स्वास्थ्य मन्त्री र सचिवको चर्को आलोचना भइरहेको छ । सचिव डा. रोशन पोखरेलले पनि यसलाई आत्मालोचना गरेको स्वास्थ्य अधिकारीहरु बताउँछन् । स्वास्थ्य मन्त्रालय तानिएका महेश्वर श्रेष्ठलाई व्यवस्थापन महाशाखा दिने चर्चाहरु चलिरहेका छन् । स्वास्थ्यका सबै खरिद व्यवस्थापन महाशाखाबाट हुन्छ ।

यति मात्रै हैन गृहमन्त्री खाँणले स्वास्थ्यमा पछिल्लो समय सृंखलाबद्ध हस्तक्षेप गर्न थालेको अधिकारीहरुले बताउँन थालेका छन् । उनले कानुनले नै नमिल्ने निर्णय समेत गर्न स्वास्थ्य मन्त्री उमेश श्रेष्ठ र सचिव डा. रोशन पोखरेललाई दबाव दिएको बुझिएको छ । तर, सचिव यस बिषयमा आफुलाई केही जानकारी नभएको बताउँछन् ।

स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, गृहमन्त्री बालकृष्ण खाँणले प्रदेशमा समायोजन भएका महेश्वर श्रेष्ठ र बद्री बहादुर खड्कालाई संघमा समायोजन गर्न दबाब दिएका छन् । गृहमन्त्री खाँण स्वास्थ्यमन्त्री र सचिवलाई प्रभावमा पारेर नियम कानुन विपरित काम गर्न खोजिरहेका छन् ।

स्वास्थ्यमन्त्रीको सचिवालयकाअनुसार स्वास्थ्यमन्त्री श्रेष्ठले प्रदेशका कर्मचारी संघमा ल्याउन चाहेको छैनन् । तर, गृहमन्त्री बालकृष्ण खाँणको दबाबमा यो काम गराउने कोशिश् अन्तिम चरणमा पुगेको छ ती कर्मचारीले भने ।

महेश्वर श्रेष्ठ र बद्री बहादुर खड्का दुवै स्वास्थ्य शिक्षा समूहका कर्मचारी हुन् । यो समूहको संघमा कही दरबन्दी खाली छैन । दरबन्दी नहुदा नहुदै शक्तिको चरम दुरुपयोग गरेर उनीहरु संघमा आउने प्रयत्न गरिरहेका छन् । मन्त्री र सचिवको सोझोपनको फाइदा उठाएर उनीहरु संघमा दबन्दी ल्याउन खोजीरहेका छन् । महेश्वर श्रेष्ठलाई काठमाडौं तानेर बिलासी कोठा दिइएको छ । बद्री खड्का बाग्मती प्रदेशको प्रदेश तालिम केन्द्र र काठमाडौं  जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख छन् ।

समायोजन ऐन शंसोधनको निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गराउन मिल्दैन ।  यसका लागि स्वास्थ्यले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउनु पर्छ । अहिले सम्म कर्मचारी समायोजन गर्ने भनेको समायोजन ऐनले दिएको कानुनी आधारबाट मात्रै हो । कर्मचारी समायोजन ऐनमा तल्लो तहको कर्मचारी संघमा तान्ने भन्ने उल्लेख छैन । एउटा स्थानीय तहमा भएको कर्मचारीलाई दुवै ठाउँको सहमति भए अर्को स्थानीय तहमा लैजान सकिन्छ ।
एउटा प्रदेशको कर्मचारी अर्को प्रदेशमा जान दुवैको सहमतिमा पाइन्छ । संघको कर्मचारी प्रदेशमा जाने प्रदेशको कर्मचारी स्थानीय तहमा जान पनि पाइन्छ तर, प्रदेश र स्थानीय तहमा भएका कर्मचारी संघमा आउन पाउँदैनन् । कानुनविपरीत प्रदेशको कर्मचारी संघमा समायोजन गर्ने गलत नियतले मन्त्री र सचिवलाई बिबादमा तान्ने देखिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com