डब्लुएचओ दक्षिण—पूर्वी एशियाको चौहत्तरौं वार्षिक बैठकको तयारी पुरा: एनएचएसएसपीको कब्जाले पाहुनालाई खाजा खुवाउने स्थान भेटिएन


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकांश कोठा एनजीओ,आइएनजीओले कब्जा गरेका छन् । आइएनजीओले यतिसम्म गरेका कि एनएचएसएसपी भन्ने संस्थाले स्वास्थ्य सचिव र मन्त्रीलाई आफ्नो पक्षमा पारेर सरकारी ट्वाइलेटसम्म चाबी लगाएर निजी बनाएको छ । एनजीओ, आइएनजीओको ठाडो हस्तक्षेप रहेको सरकारी कार्यालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मात्रै हो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठकाअनुसार सोमबारदेखि विश्व स्वास्थ्य संगठनको दक्षिण—पूर्वी एशियाको चौहत्तरौं सत्र तथा क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक सुरु हुँदैछ । सो कार्यक्रमको आयोजक नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हो ।

पाँच दिनसम्म चल्ने बैठकमा दक्षिण पूर्वी एशियाका ११ देशले सहभागीता जनाउने भएका छन् । कोभिड महामारीका कारण सबै प्रतिनिधिहरु जुम मिटिङ्मा मात्रै सामेल हुने छन् । नेपालका डब्लुएचओ प्रतिनिधि भने भौतिक रुपमा सहभागी हुँदैछन् ।
स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपत्कालीन केन्द्रदेखि मन्त्रालय भित्रका अधिकाशं कोठा आफ्नो नियन्त्रणमा लिएर वर्षौदेखि आफ्नो क्षेत्राधिकार मिच्दै आएको डब्लुएचओलाई अहिले सम्मेलनमा सहभागी हुने भिआइपीलाई राख्ने र खाजा खुवाउने ठाउँको व्यवस्थापन गर्न समस्या भएको छ । ‘र्याडिसन होटललाई खाजाको जिम्मा दिएको डब्लुएचओले खाजा खाने स्थानको खोजीमा कोठा नपाएपछि मन्त्रालयको क्यान्टिनसँगै बेवारिसे अवस्थामा रहेको स्टोर खाली गराउन लगाएको छ । तर, उक्त स्टोरमा पनि कोरोनाको समयमा मन्त्रालयका ड्राइभर सुतेका कारण सहज देखिएको छैन’, मन्त्रालयका अधिकारीहरु भन्छन् ।
स्वास्थ्य मन्त्रालयमा आवश्यक भन्दा बढी कोठा छन् । तर, गैरकानुनी रुपमा आइएनजीओले कब्जा गर्दा आवश्यक पर्दा उपयोग गर्न सकिएको छैन । आइएनजीओले कब्जा गर्दा मन्त्रालयमा एउटा गतिलो वैकल्पिक हल व्यवस्थापन गर्न नसकेको देखिन्छ । यस्तो अवस्थामा उपयोग गर्नका लागि उपयुक्त रहेको ठाउँ एनएचएसएसपीले कब्जा गर्दा अन्तर्राष्ट्रियस्तरको सम्मेलनमा राष्ट्र कै बेइज्जत भएको स्वास्थ्यका अधिकारीहरू बताउँछन् ।
‘स्वास्थ्य मन्त्रालयमा बिनासम्झैता एनएचएसएसपी बसिरहेको छ । उसले पुरै एउटा महाशाखा अट्ने हल कब्जा गरेको छ ।’, मन्त्रालयका एक अधिकारीले भने ‘ डा सुरेश तिवारी र डा. सुशिल बराल आवद्ध छन् । उनिहरुले सचिव र मन्त्रीलाई हातमा लिएका कारण अहिले सम्म सो आइएनजीओलाई मन्त्रालयले हटाउने आँट गरेको छैन ।’,
अन्तराष्ट्रिय सभा सम्मेलन हुँदा पाहुनालाई राख्ने र खुवाउने कोठासमेत आइएनजीओको कब्जामा पुग्दा स्वास्थ्य मन्त्रालय मात्रै हैन सरकारकै बदनाम हुने देखिएको छ ।
आइतबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री उमेश श्रेष्ठले नेपालले गर्नुपर्ने सम्पूर्ण तयारी पुरा गरेको बताए । उनले भने, ‘हामीले ११ बर्ष पछि पुन आयोजक राष्ट्रको रुपमा बैठक गर्ने अवसर पाएका छौँ । कोभिड महामारीको बेला आयोजना हुने बैठक दक्षिण पूर्वी एशिया क्षेत्रकै लागि महत्वपूर्ण हुनेछ । महामारी मात्रै होइन नसर्ने रोग, स्वास्थ्यको सर्वव्यापी पहूँच लगायतका विषयबस्तुमा पनि विशेष छलफल हुनेछन् ।’ तर मन्त्रालयको कोठा एनएचएसएसपीलगायतका आइएनजीओले कब्जा गर्दा सरकारी व्यवस्थापनमा  धक्का लागेको छ । केही गरौं भन्ने सोचका साथ स्वास्थ्यमा आएका राज्यमन्त्री श्रेष्ठलाई पनि उक्त संस्थाले अनावश्यक अधिकार जमाउदा समस्या भएको देखिन्छ । त्यसैले ती संस्थालाई हटाएर त्यो ठाउँ यस्ता किसिमका सम्मेलनका लागि उपयोगमा ल्याउनु पर्ने मन्त्रालयका उच्च अधिकारीको मत छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ