निष्कृति क्लिनिकको अबैध धन्दा, अनुमति नलिई पीसीआर टेष्ट


काठमाडौं । काठमाडौंको सीतापाइलामा रहेको निष्कृति हेल्थ क्लिनिकले अबैध रुपमा पैसा उठाएर सेवाग्राहीलाई ठगी गरिरहेको पाइएको छ । नागर्जुन ४ सीतापाइलामा रहेको निष्कृतिले प्रति व्यक्ति २ हजारका दरले पैसा उठाएर नक्कली रिपोर्ट दिई ठगी गरेको सेवाग्राहीको गुनासो छ ।

राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालाकी निर्देशक रूणा झाकाअनुसार निष्कृति हेल्थ क्लिनिकले पीसीआर परीक्षणका लागि अनुमति लिइएको छैन । त्यस विषयमा छानविन गरी आवश्यक कारबाही गरिने निर्देशक झाले स्पष्ट पारिन । निष्कृतिले हामीकहाँ कोरोना परीक्षण गरिन्छ भनेर गरेको विज्ञापनमा उल्लेखित ९८४१८५९२०२ मा सम्पर्क गरेर सोध्दा उक्त नम्बरको मोबाइल उठाएर बोल्ने व्यक्तिले पीसीआर परीक्षणका लागि २ हजार लाग्ने बताए । उनले नक्कली रिपोर्ट बन्ने जिज्ञासा राखेपछि कुरा फेरेर परीक्षणका लागि बाहिर पठाउने गरेको दाबी गरे ।

निष्कृतिले क्यूआर कोर्डसमेत दिने कुरा विज्ञापनको कमेन्ट बक्समा उल्लेख गरेको छ । अनुमति नै नलिई यसरी विज्ञापन गर्नु र कोरोनाको नमूना लिनु ठगी भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् । यसले कोरोना परीक्षणका लागि अधिकृत रुपमा विज्ञापन गरेर ठगी गर्ने गिरोह ह्वातै बढेको सरकारी अधिकारीहरूको भनाई छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रेकर्डअनुसार आजको मितिसम्म पीसीआर परीक्षण प्रयोगशाला ९६ वटा छन् । त्यसमध्ये सरकारी ५८ र निजी ३८ वटा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वास्थ्य लाइभलाई प्राप्त विवरणबाट देखिन्छ । त्यो सूचीबाट पनि निष्कृतिले पीसीआर परीक्षणको अनुमति पाएको देखिंदैन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com