बीपीका उपकुलपति ज्ञानेन्द्र गिरीको ‘प्रा’ गायब


काठमाडौं । बीपी प्रतिष्ठान स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीले नामको अगाडि लेख्दै आएको प्राध्यापकको उपाधि गायब बनाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपकुलपति ज्ञानेन्द्र गिरीलाई प्राध्यापकको उपाधि पाएको प्रमाण पत्र पेश गर्न पत्राचार गरेसँगै उनले अफिसियल लेटरमा ‘प्रा’ लेख्न छाडेका हुन् । अरू बेला बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका हैसियतमा हस्ताक्षर गर्ने कागजातमा प्रा.डा. ज्ञानेन्द्र गिरी लेख्दै आएकोमा पछिल्लो विज्ञप्तिमा उनले डा. ज्ञानेन्द्र गिरी मात्र लेखेर ‘प्रा’ गायब बनाएका हुन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको समस्या पहिचान तथा छानबिन कार्यदलसमक्ष उपकुलपति डा. गिरीले विराटनगर हस्पिटलबाट प्राध्यापकको उपाधि पाएको प्रमाण पेश गरेका थिए । निश्चित मापदण्ड पूरा गरेर सर्तअनुसार विश्वविद्यालयले दिने प्राध्यापकको उपाधि हस्पिटलले दिएको प्रमाण पेश गरेपछि कार्यदलले ७ दिन भित्र प्राध्यापकको उपाधि पाएको प्रमाण पेश गर्न लगाउनु पर्ने प्रतिवेदन दिएको थियो । सोहीअनुसार स्वास्थ्य मन्त्रालयले प्राध्यापकको उपाधि पाएको प्रमाण प्रेश गर्न पत्राचार गरेपछि डा. गिरीले नामको अगाडि लेख्दै आएको ‘प्रा’ गायब बनाएको देखिन्छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ मा कुनै राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिले आफूले नपाएको ओहदा पाएको हो भन्दै देखाएमा निजलाई कसुरको मात्रा अनुसार एक वर्षदेखि दुई वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ भन्ने उल्लेख छ । ज्ञानेन्द्र गिरीले यस अघि पटक-पटक अफिसियल लेटरप्याडमा नै प्राध्यापक लेख्ने गरेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि उक्त दफा बमोजिम सीधै भ्रष्टाचार मुद्दा लगाउन सकिने देखिन्छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com