उपत्यकामा दोस्रो डोज खोप लगाएका ७५ प्रतिशत पुनः संक्रमित, अधिकाशं भेरोसेल खोप लगाएका


काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना विरुद्धको दोस्रो डोज खोप लगाएका मध्ये ७५ प्रतिशत भन्दा बढी पुन संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको सुचिको तथ्यांक केलाउँदा काठमाडौं, भक्तपुर र ललितपुरका दैनिक संक्रमित मध्ये ७५ दशमलब ७७ प्रतिशत संक्रमित दोस्रो डोज खोप लगाएकाहरु छन् ।

स्वास्थ्य मन्त्रालयको २५ गतेको संक्रमित सुचिलाई आधार मान्दा यस्तो देखिएको हो । पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको भएपनि खोप लगाएका वा विगतमा संक्रमित भएका दोहोरीन थालेको देखिएको छ । तर, स्वास्थ्य मन्त्रालय आफुले भने यस्तो तथ्यांक केलाउने काम गरेको छैन । कयौं एनजीओ आइएनजीओका कर्मचारी तथ्यांक संकलनकै लागि मन्त्रालयका कोठा कब्जा गरेर बसेका छन् । तर, तथ्यांक सरकारलाई उपलब्ध गराएका छैनन् ।

उपत्यकामा दैनिक थपिएका नयाँ संक्रमित मध्ये ४३ प्रतिशत खोप लगाएका छन् । जसमा ७५ प्रतिशत दोस्रो मात्रा खोप लगाइसकेका छन् भने २४ प्रतिशत नयाँ संक्रमित पहिलो मात्रा खोप लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार २५ गते ११ सय ४६ जना नयाँ संक्रमित थपिएकोमा ३७५ जना उपत्यकाका थिए । पछिल्लो एक हप्ता यता बिस्तारै कोरोना संक्रमण घटिरहेको छ । तर, मृत्युको संख्या उल्लेख्य मात्रामा घट्न सकेको छैन ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौंमा मात्रै ४७ प्रतिशत नागरिकले पहिलो मात्रा खोप लगाएका छन् । ३९ प्रतिशतले पूर्ण खोप पाएका छन् । प्रमुख बद्रीबहादुुर खड्काका अनुसार ११ लाख ७ हजार ३३१ जनाले पहिलो र ९ लाख ११ हजार ६५० जनाले दोस्रो अर्थात पूर्ण खोप पाएका छन् । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारीका अनुसार २५ गतेसम्म २३ लाख ३७ हजार ५०७ जनाले कोभिसिल्डको पहिलो मात्रा खोप लगाएका छन् । त्यस्तै सोही खोपको दोस्रो मात्रा १३ लाख ६४ हजार १४३ जनाले लगाएका छन् ।
भेरोसेलको पहिलो मात्रा ३४ लाख २ हजार ८३८ जनाले र दोस्रो मात्रा २३ लाख ७४ हजार ५१५ जनाले लगाएका छन् । उता एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप १३ लाख ८२ हजार २१९ जनाले लगाएका छन् ।

काठमाडौं

गत २५ भदौंमा काठमाडौंमा २७१ जना नयाँ कोरोना संक्रमित देखिएका थिए । उनिहरु मध्ये ११४ जनाले कोरोना भाइरस कोभिड १९ विरुद्ध लड्न खोप लगाएका थिए । ती मध्ये ३१ जनाले पहिलो डोज खोप लगाएका थिए । ८३ जनाले दोस्रो मात्रा लगाएका थिए । १५७ जनाले खोप लगाएको नलगाएको बारे कुनै विवरण भरेका थिएनन् । संक्रमित मध्ये कोभिसिल्ड खोप लगाएका १९ जना, भेरोसिल लगाएका ८८ जना र जोन्सन लगाएका ७ जना थिए ।

कोभिसिल्ड खोप लगाएर पुन संक्रमित हुने सबैजसो ५ देखि ६ महिना अगाडीका छन् । त्यस्तै जोन्सर खोप लगाएर संक्रमित हुने एक महिना र भेरोसेलको खोप लगाए पछि संक्रमित हुने २ महिना यताका छन् । देशभरको तथ्यांक हेर्दा ९९ प्रतिशत संक्रमित भेरोसेलको दोस्रो मात्रा लगाएका छन् । कोभिसिल्ड खोप लगाएका संक्रमित पहिलो मात्रा लगाएका छन् ।

भक्तपुर

२५ भदौंमा भक्तपुरमा ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमित भएका ४५ जना मध्ये २४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । ६ जनाले खोप नलगाएको बताएका छन् । अन्य १५ जनाको खोप बारे कुनै विवरण उल्लेख गरेका छैनन् । खोप लगाएका २४ जना मध्ये २० जना दोस्रो मात्रा खोप लगाएका छन् । ४ जना संक्रमितले पहिलो डोज मात्रै खोप लगाएको बताएका छन् । भक्तपुरमा कोभिसिल्ड खोप लगाउने ५ जना, भेरोसेल लगाउने १७ जना र २ जनाले नाम खुलाएका छैनन् ।

ललितपुर

ललितपुरमा २५ भदौमा ५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ थपिएका मध्ये २३ जना कोरोना विरुद्धको खोप लगाएका छन् । ११ जना संक्रमितले खोप नलगाएकोे बताएका छन् । बाँकी २५ जनाले खोप बारे केही खुलाएका छैनन् । खोप लगाएका मध्ये १९ जनाले दोस्रो डोज लगाएका छन् । बाँकी ४ जनाले पहिलो डोज मात्रै लगाएका छन् । २० जनाले भेरोसेलको दुवै मात्रा लगाएका छन् । ३ जनाले कोभिसिल्ड लगाएका छन् ।

उपत्यकाको खोप ग्राफ

जम्मा संक्रमित : ३७५ जना
कोरोना विरुद्धको खोप लगाएका :  १६१ जना
खोप लगाएको बारे नखुलाएको संख्या : २१४ जना
पहिलो र दोस्रो मात्रा खोप लगाएको प्रतिशत : ४२.९

दोस्रो डोज लगाएको संख्या : १२२ जना
खोप लगाएका मध्ये दोस्रो डोज लगाएको संक्रमित प्रतिशत : ७५.७७

पहिलो डोज लगाएको संख्या : ३९ जना
खोप लगाएका मध्ये पहिलो डोज लगाएको संक्रमित प्रतिशत : २४.२२

क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com