बीपीका तत्कालीन उपकुलपति खनालले ठाकुरसँगको मिलेमतोमा कमसल किट खरिद गरेको खुलासा 


काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका  तत्कालीन कार्यवाहक उपकुलपति डा. गुरू खनालले मूल्यांकन समितिमा रहेका दिलिप ठाकुरसँग मिलेर कमसल किट खरिद गरेको खुलासा भएको छ ।

स्वास्थ्य लाइभलाई प्राप्त कागजातअनुसार किटको नमूना नै नहेरी खनाल र ठाकुरको मिलेमतोमा खरिद गरेको खुल्न आएको हो ।

तत्कालीन् का.वा. उपकुलपति डा. खनाल, तत्कालीन् डेपुटी अस्पताल निर्देशक तथा मूल्यांकन समितिका डा. दिलिप ठाकुर र खरिद शाखा प्रमुख सागर ताम्राकारको मिलेमतोमा प्रतिष्ठानमा प्रयोग हुने प्रयोगशाला किट खरिद गर्दा नमूना नै परिक्षण नगराई खरिद गर्ने गराउने गरेको आन्तरिक लेखा परीक्षण प्रतिवेदनले औँल्याएको छ । स्वास्थ्य लाइभलाई प्राप्त बीपीको आन्तरिक लेखा परीक्षण रिपोर्टअनुसार प्रयोगशाला किट खरिदको निमित्त आव्हान गरिएको २०१९००००१६ नम्बरको बोलपत्र राज ट्रेड कन्सर्न, गर्ग इम्पेक्स र गौतम इन्टरनेसनललाइ परेको देखिन्छ । १ करोड २१ लाख ७१ हजार ८ सय ५७ रुपैंयाँ लागत अनुमानको बोलपत्र स्वीकृत भएपछि कम्पनीले नमूना नै नदेखाई खरिद गरेको पाइएको छ । ९८५२०५६९०२ मा सम्पर्क गरेर मूल्यांकन समितिका डा. ठाकुरसँग बुझ्न खोज्दा मोबाइल अफ भएकाले प्रतिक्रिया लिन सकिएन ।

ठाकुरसँगको मिलेमतोमा नमूनाको जाँचबिनै प्रयोगशाला किट लगाएका सामग्री का.वा. उपकुलपति डा. खनालले स्वीकृत गरे गरेको तथ्य फेला परेको हो ।

व्यापारीलाई नै बनाउन दिए स्पेसिफिकेसन स्वास्थ्य सामग्री खरिद गर्न गरिएको २०१९००००२१ नम्बरको बोलपत्र गर्ग इम्पेक्सलाई परेको आन्तरिक लेखापरीक्षण रिपोर्टबाट प्रस्ट हुन्छ । २ करोड ८२ लाख २६ हजार २७० को ठेक्कामा का.वा. उपकुलपति खनालले एकपटक बोलपत्रको सूचना निस्किसकेपछी व्यापारीसँग कमिसन बार्गेनिङ गरेर व्यापारीले भने अनुरुप नै स्पेसिफिकेसन शंसोधनगरी यसमा लाखौँ अनियमितता भएको अनुमान गरिएको छ । यसमा मूल्यांकन समितिमा रहेका उनका विश्वास पात्र डा. ठाकुरको विशेष भूमिका रहेको प्रतिष्ठान उच्च स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।

यता तत्कालीन् का. वा. उपकुलपति र खरिद प्रमुखद्वारा खरिद कागजात नै गायब बनाएको पाइएको छ ।आन्तरिक लेखा परीक्षण रिपोर्टअनुसार स्वास्थ्य सामग्री (ब्यान्डेज, कटन,लगायत) को खरिदका लागि आव्हान गरिएको १०१९००००० नम्बरको बोलपत्रमा राज ट्रेड कन्सर्नका बोलपत्र स्वीकृत भएको थियो । तर अहिले १ करोड ३० लाख ३७ हजार ३ सय ७५ रुपैयाँको यो बोलपत्रमा सबै कागजात गायब छन् । त्यसैगरी का.वा. उपकुलपति डा. खनालले अनियमित तवरले भुक्तानी दिएको सरसफाई ठेक्कासम्बन्धी कागजातहरु समेत गायब रहेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

तत्कालीन् उपकुलपति डा. राजकुमार रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि २०७६ साउन १ देखि चैत्र २६ गतेसम्मको ९ महिना डा. खनाल कार्यवाहक उपकुलपति भएको समयको आन्तरिक लेखा परिक्षणको प्रतिवेदनले डा. खनालका अनेकौं अनियमितताहरु उजागर गरेको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com