पुरानो मिति राखेर बीपीमा करोडौंको आर्थिक चलखेल गर्न खोजेको आरोप


काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुद्धीकरण अभियानले पुरानो मिति राखेर बीपीमा करोडौंको आर्थिक चलखेल गर्न खोजेको आरोप लगाएको छ । अभियानले ब्याक डेटमा साइन गरेर ठूल ठूला आर्थिक चलखेल गर्न लागेको सुन्नमा आएको दाबी गरेको छ।  

प्रतिष्ठानमा जारी शुद्धीकरण अभियानलाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको हालैको निर्देशनात्मक पत्रले प्रतिष्ठानका पदाधिकारीहरु/अधिकारीहरुलाई तलब भत्ता खुवाउनेबाहेकका दीर्घकालीन आर्थिक दायित्व पर्ने निर्णयहरु गर्न रोकेको सबैलाई ज्ञात नै रहेको अभियानले स्पष्ट पारेको छ । तर, तलबबाहेकका सबै काम गर्ने प्रपञ्च रोकिएको छैन । 

‘मन्त्रालयको उक्त निर्देशनपश्चात पनि निर्देशन उल्लङ्घन गर्दै कमिसनको खेलमा लागेर केही व्यापारी र पदाधिकारीहरु/ अधिकारीहरुको मिलेमतोमा पत्र प्राप्त हुनुपूर्वको मिति राखी करोडौंको बोलपत्रहरु स्वीकृत गर्ने तयारी भैरहेको सूचना प्राप्त भएको हुँदा यसले हामीलाई गम्भीर बनाएको छ !’ अभियानले चेतावनी दिँदै भनेको छ, ‘प्रतिष्ठानका कुनैपनि पदाधिकारी/अधिकारीबाट यस्तो बदनियतपूर्ण कार्य भएमा सो कार्य गर्ने/गराउने जो कोहीलाई हदैसम्म कारवाही गर्ने माग हाम्रो आन्दोलनको उच्च प्राथमिकताको विषय हुने कुरा सम्पूर्ण सरोकारवाला पक्षलाई सूचित गरिन्छ ।’

शुद्धीकरण अभियानले तलब तुरुन्त निष्काशन गर्नसमेत माग राखेको छ । बीपीका पदाधिकारीको रबैयाप्रति आपत्ति जनाउँदै अभियानले भनेको छ #इनअफ इज इनअफ !

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ