सरकारी अस्पताल सुधारका लागि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको रोडम्याप


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पताल सुधारको रोडम्याप तयार पारेका छन् । उनले मन्त्रालयका अधिकारी, विभाग र सरकारी अस्पतालका निर्देशकहरूलाई बोलाएर आफूले अघि सारेको रोडम्याप अनुसार काम गर्न निर्देशन दिएका छन् । राज्यमन्त्री श्रेष्ठले सरकारी अस्पताल सफा, सुन्दर, व्यवस्थित, सुविधासम्पन्न र जनमैत्री बनाउन स्वास्थ्यका अधिकारीहरूलाई रोडम्याप नै तयार पारेर दिएका हुन् ।

राज्यमन्त्री श्रेष्ठको सरकारी अस्पताल सुधार गर्ने रोडम्याप

➡️सरकारी अस्पतालको इमर्जेन्सीलाई सफा, सहज र व्यवस्थित रुपमा राख्ने । त्यसका लागी इमर्जेन्सीको वेड, एसी, कोठा र बाथरुमको रङ रोगन परिवर्तन गरी नियमित सरसफाइ गर्ने ।
➡️अस्पतालबाट नियमित रूपमा निस्किएका फोहोरमैलाको अस्पताल मापदण्ड अनुसार व्यवस्थापन गर्ने ।
➡️सरकारी अस्पतालको शुल्क फरक–फरक छ । त्यसैले सरकारी अस्पतालको उपचार शुल्कमा एकरुपता ल्याउने पक्रिया तत्काल अगाडि बढाउने ।
➡️एक चिकित्सक एक स्वास्थ्य संस्थाको नीति कार्यान्वयमा ल्याउनका लागि इएचएस कार्यक्रमलाई प्रभावकारी बनाउने । यसका लागि ३ बजेपछि शल्यक्रियादेखि अन्य सेवा दिने विषयमा योजना तर्जुमा गर्ने ।
➡️काठमाडौं उपत्यकाका प्रत्येक ठूला अस्पताल (वीर, पाटन, शिक्षण, टेकु, गंगालाल) डायग्नोस्टिक सेन्टर र सुविधा सम्पन्न फार्मेसी सञ्चालन गर्ने । उक्त फार्मेसीमा बिरामीलाई चाहिने सबै किसिमका आवश्यक औषधि उपलब्ध हुने व्यवस्था अनिवार्य लागू गर्ने।
➡️अस्पताल नजिक धर्मशाला नभएकाले बिरामी कुरुवालाई अस्पताल नजिकैको सस्तो कुरुवा घर, होटल गेष्ट हाउसलगायतमा व्यवस्थित रुपमा राख्नका लागि सहजिकरण र सहकार्य गर्ने ।
➡️स्वास्थ्य बीमा चुस्तदुरुस्त बनाउन छुट्टै कर्मचारी राखेर सेवा प्रवाह गराउने । बीमामा भइरहेको झन्झटिलो प्रक्रियालाई सहज गर्ने ।
➡️अस्पताल भित्र सस्तो र स्वच्छ क्यान्टिनको व्यवस्था गर्ने । सरसफाइ र फोहोर व्यवस्थापनमा विशेष ध्यान दिने ।
➡️आफ्नो अस्पताल हाताभित्र आफ्नै एम्बुलेन्स र हेलिप्याडको व्यवस्था अनिवार्य गर्ने ।
➡️सरकारी अस्पतालमा भएका उपकरणहरु अधिकांश बिग्रने समस्या छ । त्यसैले त्यसको मर्मत गर्न मेन्टिनेन्स डिभिजन राख्ने र त्यसको समन्वय मन्त्रालयबाट गर्ने ।
➡️सबै ठूला अस्पतालमा लिक्वीट अक्सिजन र अक्सिजन प्लान्ट राख्ने व्यवस्था अनिवार्य गर्ने ।
➡️मानसिक अस्पताल पाटनको जनशक्ति न्यून रहेकाले सेवा प्रवाहमा समस्या आएको छ । त्यसैले मानसिक अस्पताल पाटन अस्पतालमा जनशक्ति थप गर्ने ।
➡️अस्पताका निर्देशकहरुको अन्तर अस्पताल भिजिट कार्यक्रम र कम्तिमा एकपटक मासिक रुपमा अन्तर अस्पतालका निर्देशकहरुको बैठक बस्नुपर्ने व्यवस्था गरेर अनिवार्य रूपमा कार्यान्वयन गर्ने ।
➡️क्यान्सरमा ५ अर्ब रुपैयाँ रकम छ । तर, स्वास्थ्य मन्त्रालयले ४० करोड रुपैयाँ मात्रै पाएको छ । त्यसैले सूर्ति करकोषमा उपलब्ध हुने कानुनअनुसारको २५ प्रतिशत पाउने व्यवस्था मिलाउने । त्यसका लागि तत्काल पहल गर्ने ।
➡️बिरामीको स्वास्थ्य उपचारमा सहजता ल्याउन निर्देशकहरुको नेटवर्क बनाउने रिफर गर्नु परेको खण्डमा सोही अनुसार बिरामी पठाउने ।
➡️विशेषज्ञ चिकित्सकहरुको नाम, विशेषज्ञता र सम्पर्क नम्बरसहितको डायरी तयार पार्ने ।
➡️सरकारी अस्पतालहरुले बिरामी रेफर गर्दा पहिलो नम्बरमा सरकारी अस्पतालहरुमा समन्वय गर्ने, दोस्रोमा मेडिकल कलेज र तेस्रोमा मात्रै निजी अस्पताल पठाउने व्यवस्था लागू गर्ने ।
➡️नागरिकलाई सहज सेवा र सहजिकरण गर्नका लागि प्रत्येक अस्पतालमा ठाउँ-ठाउँमा इन्फर्मेसन सिस्टम तैनाथ राख्ने ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com