बीपीका तत्कालीन उपकुलपति खनालमाथि ठाकुरलाई च्यापेको आरोप


काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन कार्यवाहक उपकुलपति डा. गुरू खनालले डा. दिलिप ठाकुरलाई च्यापेको आरोप लागेको छ । अस्पताल निर्देशक गौरीशंकर शाहले तत्कालीन कावा उपकुलपति प्राडा गुरू खनालले माताहतमा कार्य गर्दा आफ्नो सिफारिस बेगर नियमविपरीत डेपुटी अस्पताल निर्देशक नियुक्त गरी आफ्नो अधिकारसमेत उसैलाई प्रत्यायोजन गरी पूर्ण रुपमा अधिकारबिहीन बनाएको आरोप लगाएका छन् । अस्पताल निर्देशक शाहले जारी गरेको विज्ञप्तिमा, ‘उपकुलपति प्राडा गुरू खनालले माताहतमा कार्य गर्दा मेरो मातहतमा मेरो सिफारिस बेगर नियमविपरीत डेपुटी अस्पताल निर्देशक नियुक्त गरी मेरो अधिकारसमेत निजलाई प्रत्यायोजन गरी मलाई पूर्ण रुपमा अधिकारबिहीन बनाएर राख्नु भयो’, भन्ने उल्लेख छ । यसले पनि खनालले गर्ने सम्पूर्ण काम हेर्ने जिम्मेवारी डेपुटी अस्पताल निर्देशक ठाकुरलाई दिएको थियो भन्ने प्रस्ट हुन्छ ।
आरोपित डेपुटी अस्पताल निर्देशक ठाकुर भने तत्कालीन कार्यवाहक उपकुलपति खनालले दिएको जिम्मेवारी कानुनसम्मत रहेको दाबी गर्छन् । यो विषयमा उच्च अदालत विराटनगरमा रिटसमेत परेर छिनोफानो भइसकेको उनको भनाई छ ।
बीपी प्रतिष्ठानका तत्कालीन कार्यवाहक उपकुलपति डा. गुरू खनालले कमसल किट खरिद गरेको तथ्य स्वास्थ्य लाइभले खुलासा गरिसकेको छ ।
स्वास्थ्य लाइभलाई प्राप्त कागजातअनुसार किटको नमूना नै नहेरी खनाल र ठाकुरको मिलेमतोमा खरिद गरेको देखिन्छ ।
तत्कालीन् का.वा. उपकुलपति डा. खनाल, तत्कालीन् डेपुटी अस्पताल निर्देशक डा. ठाकुर र खरिद शाखा प्रमुख सागर ताम्राकारको मिलेमतोमा प्रतिष्ठानमा प्रयोग हुने प्रयोगशाला किट खरिद गर्दा नमूना नै परिक्षण नगराई खरिद गर्ने गराउने गरेको आन्तरिक लेखा परीक्षण प्रतिवेदनले औँल्याएको छ ।
स्वास्थ्य लाइभलाई प्राप्त बीपीको आन्तरिक लेखा परीक्षण रिपोर्टअनुसार प्रयोगशाला किट खरिदको निमित्त आव्हान गरिएको २०१९००००१६ नम्बरको बोलपत्र राज ट्रेड कन्सर्न, गर्ग इम्पेक्स र गौतम इन्टरनेसनललाई परेको देखिन्छ । १ करोड २१ लाख ७१ हजार ८ सय ५७ रुपैंयाँ लागत अनुमानको बोलपत्र स्वीकृत भएपछि कम्पनीले नमूना नै नदेखाई खरिद गरेको पाइएको छ । लेखा परीक्षण प्रतिवेदन हेर्दा उपकुलपतिको जिम्मेवारी खनाल सम्हालेको बेलामा भएका अधिकांश काम कारबाही र बदमासीमा डेपुटी अस्पताल डाइरेक्टर ठाकुरको पनि संलग्नता देखिन्छ ।
स्वास्थ्य लाइभसँग सम्पर्कमा आएका डा. ठाकुर भने यो विषयमा आफ्नो कुनै हात नरहेको जिकिर गर्छन् । तर बीपीका अन्य अधिकारी भने खनाल र ठाकुरको साँठगाँठमा त्यो बेला ठूल्ठूला अनियमितता गरेको आरोप लगाउछन् ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ