राष्ट्रिय जनगणना र गणना क्षेत्रको नक्शा


काठमाडौँ ।  केन्द्रीय तथ्यांक विभागले बनाएको गणना क्षेत्रको नक्शा मिलेन भन्ने गुनासो बारे म जिल्ला जनगणना कार्यालय काठमाण्डौं-घ का जिल्ला जनगणना अधिकारी तथा राष्ट्रिय जनगणना पछि यी नक्शाको सर्वाधिक प्रयोग गर्ने केन्द्रीय तथ्यांक विभागको घरपरिवार सर्वेक्षण शाखाको निर्देशकको हैसियतले केही कुरा राख्न चाहन्छु यसलाई अन्यथा नबुझिदिनहुन अनुरोध छ ।

सर्वप्रथम देश, प्रदेश, जिल्ला, पालिका, र वडाको नक्शामा जस्तो accuracy गणना क्षेत्रको नक्शामा हुँदैन र तथ्यांक विभाग जस्तो निकायले गरिरहन सम्भव पनि हुँदैन ।

राष्ट्रिय जनगणनामा एकजना गणकले १५ दिनमा जनगणनाको काम सक्ने हिसाबले बनाइएको हो वडाखण्ड वा गणना क्षेत्रको नक्शा । कुनै पनि व्यक्ति कुन वडामा बसोबास गर्छ भन्ने कुरा धेरै महत्वपूर्ण भएता पनि कुन वडा खण्ड वा गणना क्षेत्रमा बस्छ भन्ने कुराको खासै महत्व हुँदैन । तर हरेक वडाखण्डमा कति परिवार बस्छन् (Number of Households residing in an EA) भन्ने कुरा चाहिं पछि Sampling Frame बनाउन अत्यन्त महत्वपूर्ण हुन्छ ।

साधारणतया एकजना सुपरिवेक्षकलाई परिवारको घनत्व, टोलमा भाडामा कति बस्छन होला भन्ने अन्दाज, वडा वा गणनाक्षेत्र को साइज हेरी ३ देखि ८ वटा सम्म गणना क्षेत्र पर्दछ।

सबैभन्दा पहिला सुपरिवेक्षकले आफैलाई कार्यादेश दिइएको वडाका गणनाक्षेत्रहरु बारे आफू र छिमेकि गणनाक्षेत्रका सुपरिवेक्षकहरु वा छिमेकी वडाका गणनाक्षेत्रहरु हेर्ने सुपरिवेक्षकहरुसँग बसी सीमाना यकीन गर्नुपर्छ । यकीन गर्न नसकिएको अवस्थामा यति मैले गर्छु यति तपाईंले गर्नुस भनी बराबर जस्तो हुने गरी भाग लगाई उपलब्ध गराइएको गणना क्षेत्रको नक्शाको पछाडि कुन दिशाको सीमाना हो त्यसमा टिपोट गरी कार्य सुचारु गर्नुपर्छ । वडाको सीमाना त वडाको सीमाना तिर बसोबास गर्ने सबैजसोलाई थाहा हुन्छ नै ।

सीमाना अलमल भएका गणनाक्षेत्रहरु यदि आफैले हेर्ने हो भने दुबै गणनाक्षेत्रहरु मा बराबर परिवार पर्ने गरी गणना गरी आफैले सीमाना हेरफेर गरी नयाँ सीमानाको टिपोट गणना क्षेत्रको नक्शाको पछाडि गर्नुपर्छ ।

काठमाण्डौं कोर एरियामा रहेका कुनै कुनै घरहरुले धेरै चोक देख्ने भएको र एकातिरको झ्यालबाट हेर्दा एउटा गणना क्षेत्र र अर्को झ्यालबाट हेर्दा अर्कै गणना क्षेत्र हुनसक्ने सम्भावना रहेको हुन्छ यस्तोमा मूल ढोका वा नेपालभाषामा पिखालखुलाई आधार मानि गणना गर्नुपर्छ ।

चोक भन्नाले काठमाण्डौं कोर एरिया र अन्यत्र भिन्दाभिन्दै अर्थ लाग्ने कुरा पनि जानकारी गराउन चाहन्छु ।

जिल्ला जनगणना कार्यालय, काठमाडौं ‘घ’

क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com