अख्तियारले डामेका दूरसञ्चारका बिचौलिया कर्मचारी अच्यूतानन्द मिश्र

कागजात र निर्णय किर्तेदेखि कमिसन डिलमा समेत खप्पिस मिश्र


काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणालीमा भ्रष्टाचार मुद्दा दायर गऱ्यो । झन्डै १ अर्ब बिगो दाबीसहित उक्त भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता भएको छ । एमडीएमएसबाट अख्तियारले दूरसञ्चारको बदमासीमा फायर खोल्न सुरू गरेको हो ।

अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरण(एनटीए)का तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनालसहितका झन्डै दुई दर्जन प्रतिवादीसँग ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो मागदाबी गरेको छ । साथै एमडीएमएस प्रणाली स्थापनाका नाममा हालसम्म खर्च भएको २३ करोड २० लाख रुपैयाँ जरिवाना असुल गर्न पनि अख्तियारले विशेष अदालतसमक्ष माग गरेको हो ।

‘मकै पिस्दा घुन पनि पिसिन्छ’ भनेझैं तत्कालीन वरिष्ठ निर्देशक आनन्दराज खनाल समेत एमडीएमएम भ्रष्टाचार मुद्दाको प्रतिवादी बनेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका प्रायजसो उच्च तहका कर्मचारी एमडीएमएस घोटालामा संलग्न रहेको अख्तियारको अभियोगपत्रबाट देखिन्छ । एमडीएमएसको भ्रष्टाचारमा डामिएका तीमध्येका एक उपनिर्देशक अच्यूतानन्द मिश्र पनि हुन् । अख्तियारले प्राविधिक मूल्यांकन प्रतिवेदनको कभर पेज, प्रतिवेदनमाथिको निर्णय, आर्थिक प्रस्ताव खोल्ने मुचुल्का लगायतका कागजात गायब पारेको आरोपमा मिश्रमाथि अर्को मुद्दा समेत हालेको छ । उनीसहित सरकारी कागजात लुकाएको र नष्ट गरेको आरोपमा अख्तियारले विजयकुमार राय यादव, सन्दीप अधिकारी र सूर्यप्रसाद लामिछानेमाथि थप मुद्दा लगाएको हो ।

अख्तियारले एनटीएका प्रायजसो उच्च अधिकारी र शाखा प्रमुखमाथि एमडीएमएसमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अब बाँकी रहेका पनि टेरामक्स, अप्टिकल फाइबर र विद्यालय आइटी ल्याबमा जाकिने सम्भावना छ । ‘दूरसञ्चारमा अहिले मझौला किसिमको भूकम्प गएको छ अब महाभूकम्प जानेवाला छ ।’, अख्तियार कै अधिकारीहरू दाबी गर्छन् ।

एमडीएमएस मूल्याङ्कन समितिका संयोजक मिश्रले न्यूमेरालाई ठेक्का दिलाउनका लागि पूर्वसचिव एवं सार्वजनिक खरिद विज्ञ सुरेश प्रधानको हस्ताक्षर नै किर्ते गरेको आरोप लागेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्राविधिक सहसचिव गौरव गिरी नेतृत्वको छानबिन समितिले एनटीएका उपनिर्देशक मिश्रको उक्त बदमासी पत्ता लगाएको हो । उक्त प्रतिवेदनलाई समेत आधार मानेर अख्तियारले एमडीएमएसमा भ्रष्टाचार मुद्दा दायर गरेको पाइन्छ ।

एमडीएमएसमा मोबिलियन ट्रेड इन्टरनेशनल प्राली, इन्फ्रा डाटा एनभी बेल्जियम र ग्रिन आईटी सोलुसन प्रालीलाई फेल गराएर अर्को न्यूमेरा मलेसिया, ओएसआई कन्सल्टिङ प्रा.ली. र नमस्ते ग्लोबल कम्यूनिकेसन सिंगापुरलाई ठेक्का दिलाउन मिश्रले नै सेटिङ मिलाएर यो हर्कत गरेको आरोप लागेको छ । एमडीएमएसको ठेक्कामा न्यूमेरालेभन्दा मोबिलियनले ५ करोड कम कबोलेको थियो तर मूल्याङ्कन समितिका संयोजक मिश्रले नै सेटिङमा किर्ते प्रतिवेदन तयार पारेर मोबिलियनलाई प्रतिस्पर्धाबाट आउट गराएको खुल्न आएको हो ।

अख्तियारले एमडीएमएसमा लागत अध्ययन नगरी खरिद प्रक्रिया अघि बढाएको, अस्वभाविक बढी लागत देखाएको, प्रणाली कहाँ स्थापना गर्ने भन्ने तय नै नभई ठेक्का प्रक्रिया अघि बढाएको ठहर गरेको छ । यो विषयमा एनटीएका ठूला माछाहरू संलग्न रहेको विशेष अदालतमा दर्ता भएको अभियोगपत्रबाट देखिन्छ ।

मिश्र तिनै व्यक्ति हुन् जसले पूल्चोक इन्जिनियरिङ कलेज पढ्दा शैक्षिक प्रमाणपत्र (सर्टिफीकेट) किर्ते गरेको आरोपमा मुछिएका थिए । पूल्चोकबाट इन्जिनियरिङमा स्नातक (बीई) विशिष्ट श्रेणीमा गरेपछि एसियन इन्चिच्युट अफ टेक्नोलोजी (एआईटी) थाइल्याण्डमा स्नातकोत्तर (मास्टर्स) पढ्का लागि इलेट्रोनिक्सका  प्रा. डा. दिनेशकुमार शर्माले सिफारिस गर्ने गर्थे । तर, विशिष्ट श्रेणी नआएपछि मिश्रले प्रमाणपत्र नै किर्ते गरे । उक्त कुरा शर्माले थाहा पाएपछि मिश्रमाथि एक्सन नै लिएका थिए । त्यसपछि उनको एआइटीको सपना तुहियो । एआइटीको सपना तुहिएपनि मिश्रले एनटीएको सपना साकार पारे । मिश्रले पूल्चोकबाटै इन्फर्मेसन एण्ड कम्यूनिकेसन इन्जिनियरिङमा ‘मास्टर्स’ समेत गरे ।

प्रा.डा. शर्मा नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष समेत भइसकेका व्यक्ति हुन् । शर्माले नेतृत्व गरेको नेपाल दूरसञ्चार प्राधिकरणमा जागिर खाएका मिश्रले ‘चिटिङ’ गर्ने बानी र प्रवृत्ति एनटीएमा पनि कायम राखेको पाइन्छ । मूल्याङ्कन समितिको संयोजकको हैसियतमा रहेका उनले एमडीएमएस ठेक्कामा महत्त्वपूर्ण कागजातहरु ‘किर्ते’ गरेको आरोप लाग्दै आएको छ । सञ्चार मन्त्रालयको छानबिन समिति र अख्तियारको अभियोगले पनि त्यसलाई थप पुष्टि गरेको छ । ‘पल्केको तिल्के घरिघरि मिल्के’ कै शैलीमा मिश्रले पूल्चोकमा जस्तै एनटीएमा बदमासी गरेको खुलासा भएको हो ।

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधिका खास मान्छे मिश्र एमडीएमएसमा मात्र होइन एनटीएले अघि सारेको टेरामक्स, विद्यालय आइटी ल्याब, अप्टिकल फाइबर जस्ता ठूला ठेक्काका प्रमुख पात्र हुन् । एनटीएका अध्यक्ष दिगम्बर झाका भित्रिया बनेर काम गरेका उनी त्यसपछिका अध्यक्ष पुरुषोत्तम खनालको पनि विश्वासपत्र बन्न सफल भए । मूल्याङ्कन समिति, खरिद एकाइ जस्ता ठाउँमा बस्ने गरेका मिश्रले एनटीए बोर्ड र अन्य आवश्यक कागजात पनि किर्ते निर्णय गरेर आफैं हस्ताक्षर गर्ने गरेका थिए । जुन कुरा सुरेश प्रधानको ‘केस’बाट पनि पुष्टि गरेको भएको छ । अन्य ठेक्काको कागजात अध्ययन गर्ने हो भने पनि त्यो कुरा खुल्ने एनटीएकै उच्च अधिकारीहरू बताउँछन् ।

दिगम्बर झासँग मिलेर सिजी टेलिकमलाई लाइसेन्स दिलाउनेदेखि अप्टिकल फाइबर बिच्छाउन ग्रामिण दूरसञ्चार कोषको रकम दुरुपयोग गर्न समेत मिश्रको महत्त्वपूर्ण भूमिका रहेको चर्चा हुँदै आएको छ । बहुचर्चित टेरामक्स समेत मिश्रले कागजातमा निकै गडबडी गरेको बुझिन्छ । अप्टिकल फाइबरमा मात्र होइन टेरामक्स र विद्यालय आइटी ल्याबमा ग्रामिण दूरसञ्चारको पैसा अपचलन गर्न उनले विशेष भूमिका खेलेको देखिन्छ ।  मिश्र ठेक्काको कागजात र निर्णय किर्तेमा मात्र होइन कमिसन (घूस) डिल गर्नमा समेत खप्पिस रहेको जानकारहरू बताउँछन् ।

कतिसम्म भने मिश्रले यसलाई यति दिनुपर्छ, चाहिन्छ भनेर ठेकेदारहरूसँग सीधै रकम तोकेर पैसा माग्ने गरेका थिए । पछिल्लो समय टेरामक्स, एमडीएमएस र आइटी ल्याबका ठेकेदार उनको छेउमा पर्न छाडेको एनटीएकै अधिकारीहरू सुनाउँछन् । छेउमा पऱ्यो कि सर्पले जस्तो डसिहाल्ने मिश्रको प्रवृत्तिले गर्दा ठेकेदारहरू समेत आजित भएका थिए । एनटीएका खास भान्से मिश्रलाई अख्तियारले अकुत सम्पत्ति आर्जनमा समेत थप अनुसन्धान गर्न जरूरी देखिन्छ ।

क्याटेगोरी : विचार, समाचार
ट्याग : #अच्यूतानन्द मिश्र, #एमडीएमएस, #टेरामक्स, #दिगम्बर झा, #पुरुषोत्तम खनाल, #सिजी टेलिकम

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com